
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा २० वर्षीय दिपक काफ्ले भेरी पुलनजिकैबाट बेपत्ता भएका छन्। काफ्ले भेरी पुलनजिकै पुगेपछि आफ्ना व्यक्तिगत सामान त्यहीँ छाडेको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ।
परिवारका अनुसार काफ्ले पुलनजिकै पुगेपछि उनका व्यक्तिगत सामान फेला परेका थिए। सामान फेला परे पनि उनी भने सम्पर्कमा नआएपछि परिवार तथा आफन्तले उनको खोजी सुरु गरेका हुन्।
काफ्ले भेरी नदीतर्फ गएको हुनसक्ने आशंका गरिए पनि उनी नदीमा पसेको वा अन्य कुनै स्थानमा गएको भन्ने विषयमा हालसम्म यकिन हुन सकेको छैन। घटनापछि सम्भावित स्थानहरूमा खोजी कार्य अघि बढाइएको छ।
प्रहरी तथा आफन्तले भेरी पुल आसपास, नदी किनारलगायतका क्षेत्रमा खोजी गरिरहेका छन्। उनको मोबाइल सम्पर्क तथा अन्य सम्भावित माध्यमबाट समेत अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाइएको छ।
दिपक काफ्ले हालसम्म सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ। उनको अवस्था पत्ता लगाउन खोजी कार्यलाई तीव्रता दिन परिवारले सम्बन्धित निकाय तथा स्थानीयवासीसँग सहयोगको आग्रह गरेको छ।
काफ्लेबारे कुनै जानकारी वा उनको अवस्थाबारे केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।