२०८३ साउन २८ , बिहीबार

भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका विषयमा कार्यशाला



सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा सुर्खेतस्थित हरिडिलभूमि माध्यमिक विद्यालयमा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा स् भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका’ विषयक जानकारीमूलक कार्यशाला सञ्चालन गरिएको छ।

राष्ट्रिय कृषक समूह नेपाल र ख्क्इ को सहयोगमा क्रियटिभ क्लब सुर्खेतले आयोजना गरेको कार्यक्रममा विद्यालयको कक्षा ११ मा अध्ययनरत करिब ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यशालामा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिरहेका भ्रामक सूचना तथा दुष्प्रचारले व्यक्ति, समाज र समुदायमा पार्न सक्ने नकारात्मक प्रभावका विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो। साथै, गलत सूचना पहिचान गर्ने, तथ्य जाँच गर्ने र सामाजिक सञ्जालमा जिम्मेवार ढङ्गले सूचना प्रवाह गर्ने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक त्रिभुवन बि।सी। र पत्रकार हिक्मत नेपालीले सहजीकरण गरेका थिए।

युवाको भूमिका र सहभागिताको महत्वलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो। दिवसको मुख्य उद्देश्य युवा केन्द्रित विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस र पैरवी गर्नुका साथै नीति निर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता बढाउनु रहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ, जुन कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल, शिक्षकहरू तथा राष्ट्रिय कृषक समूह नेपालका प्रतिनिधि धना जी।सी। र हरिकला चौलागाईंको उपस्थिति थियो। टीका हमालले सञ्चालन गरेको कार्यक्रमले युवालाई भ्रामक सूचना र दुष्प्रचारविरुद्ध सचेत तथा जिम्मेवार बन्न प्रेरित गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार