
कुलेन्द्र शाही, सुर्खेत । विद्युत अनियमित हुँदा कर्णालीवासी हुक्क/दिक्क भएका छन् । राजधानी वीरेन्द्रनगरमासमेत विद्युत प्रवाह भरपर्दो नहुँदा जनताले ठुलो सास्ती बेहोर्नु परेको भन्दै विद्युतसंगै सरकारी निकायको आलोचना भइरहेको छ। पानी परेको दिन र चर्को घाम लागेको दिनमा विद्युतमा उस्तै समस्या छ । कतिखेर विद्युत झुल्किन्छ र कतिखेर निभ्छ भन्ने पत्तो हुँदैन।
सर्वसाधारणदेखि अधिकांश मानिसले विद्युत प्राधिकरणलाई सामाजिक सञ्जालमा निकै गाली गरिहरेका हुन्छन् । विद्युत जाने तर आउनेबेलामा घण्टौँ कुर्दा पनि नआउने हुँदा कर्णालीवासी निकै दिक्दार भएका छन् । छिनछिनमा विद्युत् लाइन काटिने र बत्ती आउँदापनि लो भोल्टेज हुने समस्याले सेवाग्राहीलाई निकै समस्यामा पारेको छ ।
कर्णालीका सबै जिल्लामा एक दिनमै सयौंपटक बिजुली अवरुद्ध हुने गरेको गुनासो निकै सुनिन्छन् । २–३ मिनेटको फरकमा धेरै पटक लाइन झ्याप्प काटिने र आउँदापनि लो भोल्टेज हुँदा धेरैका इलेकट्रोनिक्स सामाग्रीमा क्षति पुगेको स्थानीयहरू गुनासो गर्छन् । दिउँसोको समयमा भन्दापनि रातिको समयमा बत्ती जाने गर्दछ ।
हावाहुरी चल्न सुरु नगर्दै बत्ती जाने समस्याले निकै समस्या हुने वीरेन्द्रनगरमा बस्ने नागरिकहरू बताउँछन् । अनियमित र लो भोल्टेजले लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूलाई सास्ती भएको छ । लो भोल्टेजले विद्युतबाट चल्ने उद्योग, छापाखाना, सञ्चारमाध्यम, बैङ्क तथा वित्तीय संस्थामा समेत समस्या देखिएको छ । पटक–पटक बिजुली जाँदा नागरिकलाई असुविधा भएको छ ।
बत्ती जाने समस्याले गर्दा आम नागरिकहरूले सामाजिक सञ्जालमा समेत विभिन्न नकारात्मक टिप्पणी गरेका हुन्छन् । वीरेन्द्रनगरमा बसोबास गर्दै आएका अधिकांशको प्रश्न हुने गर्दछ, बत्ती कति बेला आउँछ रु अहिले सुर्खेतमा कोहलपुरदेखि ३३ केभी प्रसारण लाइन आएको छ । सुर्खेतमा अहिले चालू लाइन २०४५ सालदेखि विस्तार भएको हो ।
लाइन पुरानो भएको हुँदा विद्युत् अनियमित हुने गरेको प्राविधिकहरू बताउँछन् । यहाँको पुरानो तथा जीर्ण संरचना हावाहुरी चल्न बित्तिकै बत्ती जाने गर्दछ । कोहलपुरबाट आएको यो लाइनबाटै अहिले कर्णालीका धेरैजसो जिल्लामा विद्युत विस्तार भएको छ । एउटा क्षेत्रमा मात्रै समस्या आयो भने सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गर्दछ ।
३३ केभी लाइनमा भर परेको सुर्खेत वितरण केन्द्रमा मात्रै अहिले ६३ हजार भन्दा बढी उपभोक्ताहरू छन् । उपभोक्ताहरू भने प्राधिकरणले शुल्क उठाउने तर यसको गुणस्तर सुधार्नेतर्फ कत्तिपनि ध्यान नदिएको आरोप लगाउँछन् । विद्युत् नियमित बनाउनेतर्फ प्राधिकरणले खासै चासो नदिएको र १३२ केभीए ल्याउने वाधा अवरोधहरू हटाउनेतर्फ पनि पटक्कै चासो नभएको उनीहरूको गुनासो छ ।
मुख्यमन्त्री कँडेलले देखाए चासो
कर्णालीका मुख्यमन्त्री यामललाल कँडेलले कर्णालीमा दैनिक हुने विद्युत अनियमितबारे चासो देखाएका छन् । आइतबार कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणाधीन प्रसारण लाइनमा निर्माणमा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण लाइन निर्माणमा देखिएका समस्या र समाधानका लागि भइरहेको पहलबारे चासो व्यक्त गरेका छन् । छलफलमा आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेतको सुब्बाकुना, बाँकेको गाभर र निकुञ्ज क्षेत्रभित्र भएका समस्याबारे मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए ।
सङ्घ सरकारको मातहतमा रहेको सो प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय आवश्यक रहेको प्रमुख चौधरीको भनाइ थियो । अहिले ३२ केभी प्रसारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालनमा भइरहेको छ । पटक–पटक म्याद थपेर सो प्रसारण लाइनको काम भइरहेको छ ।
निकुञ्जभित्र रुख कटानदेखि कटान गरिएका रुख बराबरको जमिन निकुञ्जलाई उपलब्ध गराउने काम भइरहेका छन् । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा सुरु गरिएको प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चासो देखाए ।
प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम सुरु गरेको थियो । तर लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युत्को समस्या हुँदै आएको छ । सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत् प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।
कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि मात्रै काम सुरु गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए आगामी दसैँसम्म काम पूरा हुने बताएको छ । प्रसारण लाइन निर्माणका लागि ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकाले अब सो क्षेत्रमा पर्ने १३ हजार रुख कटान हुने आयोजनाले जनाएको छ ।
त्यसमध्ये सुर्खेतमा ६ हजार आठ सय ८०, बर्दियामा तीन हजार तीन सय २०, बाँकेमा दुई हजार नौ सय १९ वटा रुख कटान गर्नुपर्ने छ । आयोजनाको ईआईए प्रतिवेदनमा ७० दशमलव ५४६ प्रतिशत क्षेत्रफल वनको, १५ दशमलव १३५ खेतीयोग्य जमिन, दुई दशमलव २६५ बाँझो जमिन र ११ दशमलव ६५ अन्य भाग रहेको छ । आयोजना निर्माणका लागि एङ्गल टावर २६ वटा रहनेछन् भने आयोजनामा कूल टावरको सङ्ख्या एक सय ४५ वटा रहनेछन् ।
आयोजना निर्माणका लागि रु एक अर्बभन्दा बढी लागत अनुमान गरिएको छ । सुर्खेत वीरेन्द्रनगरको धुलियाविट सबस्टेशन निर्माणको काम पनि चलिरहेको छ भने २५ किलोमिटरभन्दा बढीमा तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए । सो प्रसारण लाइन बिस्तारको काम पूरा भएपछि कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको ८० प्रतिशत समस्या समाधान हुने बताइएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।