सुर्खेत । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरुलाई ज्योति फाउन्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।
जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ जना बालिकालाई छात्रवृत्तिस्वरुप विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको फाउण्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन् । त्यस्तै, रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई पनि शैक्षिक सामाग्री वितरण गरिएको छ ।
उनीहरुलाई विद्यालय पोशाक, स्टेशनरी, झोला लगायत शैक्षिक सामाग्रीहरु उपलब्ध गराइएको छ । भूकम्पमा परी अभिभावक गुमाएका र अतिविपन्न बालिकाहरुको छनोट गरी शैक्षिक सामाग्री वितरण गरिएको भेरी नगरपालिकाकी उपमेयर सीता जैसीले बताइन् । फाउण्डेसनले छनोट भएका बालिकाहरुलाई कक्षा-१० सम्म अध्ययन गर्नका लागि वार्षिकरुपमा निरन्तर सहयोग गर्ने जनाएको छ ।