२०८३ जेठ १८ , सोमबार

वीरेन्द्रनगरका केही वडाले विदेशी भाषा पढाउन गरेको सम्झौताकाे सामाजिक संजालमा विरोध

सञ्चालक भन्छन् - सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको हो


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडा कार्यालयहरूले जापनिज र कोरियन भाषा पढाउने सिफारिस गरेकाे भन्दै सामाजिक संजाल तातेकाे छ। वीरेन्द्रनगरका वडा नं १०, १३ र १६ का वडा कार्यालयहरुले केही समय अगाडि आफ्नो वडामा स्थायी बसोबास गर्ने अति विपन्न, जेहेन्दार विद्यार्थीलाई टेस्ला ईन्स्टिच्युटसंग समन्वय गरेर जापानिज र कोरियन भाषा पढाउने निर्णय गरेका थिए ।

यी तीन वडाले टेस्ला इन्स्टिच्युटसंग ५० प्रतिशत छुटमा भाषा कक्षा र कम्प्युटर पढाउने भन्दै साँझेदारी गरेका थिए। आफ्ना वडाका ३० जनालाई भाषा र कम्प्युटर पढाउने निर्णय गरेका यी तीन वडाले सार्वजिक सूचना मार्फत टेस्लासंग सम्झौता भएको जानकारी दिएका थिए। वडाले विदेशी भाषा मात्रै नभइ कम्प्यूटर सम्बन्धी तालिम, अङ्ग्रेजी भाषा सम्बन्धी आधारभूत ज्ञान, आईईएलटीएस, पीटीई र टोफल अध्ययनका लागि भन्दै १० दिने सार्वजनिक सूचना जारी गरेका छन् ।

१८ वैशाखमा वडा नम्बर १० को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘उपर्युक्त सम्बन्धमा यस वडा कार्यालय र टेस्ला इन्स्टिच्युट प्रालिबीच भएको सम्झौताअनुसार यस १० नम्बर वडामा स्थायी बसोबास गर्ने विपन्न तथा गरिब जेहेनदार विद्यार्थीहरूलाई ५० प्रतिशत छुटमा अध्यापन गराइने व्यहोरा जानकारी गराउँदछौँ ।’

जसमा कोरियन भाषा बेसिक/एड्भान्सका लागि १० हजार, जापनिज भाषाअन्तर्गत अध्ययनका लागि ५ हजार तथा रोजगारीका लागि २० हजार रुपैयाँ लाग्ने उल्लेख छ । यस्तै, बेसिक र डिप्लोमा कम्प्युटर ४ हजार ५ सय, अंग्रेजी भाषा ३ हजार ५ सय, आईईएलटीएस, पीटीई र टोफल कक्षाका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

टेस्लाले गरेको उक्त निर्णयले यतिबेला सामाजिक सञ्जाल निकै तताएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वडाका ती सूचना फेसबुकमा राख्दै वडा कार्यालयहरुले युवाहरुलाई बिदेश पठाउन प्राेत्साहन गरेकाे भन्दै नकारात्मक टिकाटिप्पणी सुरु गरेका छन् । पछिल्लो समय युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशिने क्रम बढेको बेला यसलाई रोक्न स्वदेशमै आयमूलक कार्यक्रममा जोड दिनुको साटो सार्वजनिक रूपमै भाषा पढाउन गरिएको विज्ञापनले नकारात्मक सन्देश प्रवाह गर्न खोजेको टिप्पणी उनीहरूको छ ।

यसबाट दीर्घकालीन रूपमा पर्न सक्ने असरलाई ध्यानै नदिई हचुवाको भरमा वडा कार्यालयहरू अघि बढ्नु सस्तो लोकप्रियता रहेको सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उल्लेख गरेका छन् । उनीहरूले वडाले आफ्नै ठाउँमा रोजगारी नदिई विदेशी भाषा पढाएर बाहिर देशमा पठाउन लागेको निर्णय गलत भएको बताएका छन् । उनीहरूले वडाकै लगानीमा विद्यार्थीलाई पढाउन लागेको बुझेका छन् ।

तर सामाजिक संजाल प्रयाेगकर्ताहरुकाे बुझाई गलत भएको वडा कार्यालयहरु दाबी गर्छन् । टेस्लामा विद्यार्थी सिफारिस गरेका मध्येका एक वीरेन्द्रनगर १३ का वडा अध्यक्ष दीपेन्द्र कोइरालाले वडाको लगानी नभइ स्वयं पढ्ने विद्यार्थीलाई ५० प्रतिशत छुटमा पढाउन लागिएको बताए ।

‘हामीले पैसा तिर्ने होइन, यहाँ धेरैको बुझाई हामीले पैसा तिर्ने हो कि भन्ने छ,’ वडाध्यक्ष कोइरालाले भने, ‘५० प्रतिशत कन्सल्टेन्सीले छुट दिने हो, अरु ५० प्रतिशत स्वयं पढ्ने विद्यार्थीले नै दिने हो ।’ उनले वडाले विद्यार्थी छनोट गरेर पठाउने मात्रै जिम्मा लिएको बताउँदै सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नु गलत भएको बताए ।

वडाध्यक्ष कोइरालाले आफूहरुले ३० जना विद्यार्थी इन्स्टिच्युटलाई सिफारिस गरिसकेकोसमेत जानकारी दिए। यसबारेमा बुझ्न खाेज्दा टेस्ला इन्स्टिच्युटका सञ्चालक निरक वलीले इन्स्टिच्युटले विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट दिएको र बाँकी ५० प्रतिशत पढ्ने विद्यार्थीले नै व्यहाेर्ने निर्णय भएको बताए । उनले सामाजिक सञ्जालमा आलोचना गर्नेहरुले कुनै काम नपाएर बिराेध गरेको बताए।

वलीले आफूहरुले २० हजार शुल्क लाग्ने गरेकोमा ५० प्रतिशत छुट दिएर पढाउँछु भन्दा के अपराध भयाे भन्दै प्रती प्रश्न गरेका छन। उनलेे कतिपयलाई पूरा शुल्क लिन नपाएकोमा डाहा भएको पनि बताए । उनले कर्णालीका सबै वडाहरूसँग समन्यव गरेर आफूहरुले जेहेन्दार गरीब र विपन्न वर्गका विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेर पढाउन लागेको जानकारी दिए।

प्रकाशित मिति : २०८१ वैशाख ३१ गते सोमबार