सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा आज बिहान खसको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि यातायातका साधान सञ्चालनमा आएका छन्। गए रातिदेखि लगातार परेको वर्षाले कालीकोटको शुभकालिका-१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो खसेको थियो।
बिहीबार बिहान एक्स्काभेटरको मद्दतले पहिरो पन्छाएपछि हुल्ममा रोकिएका गाडीहरू गन्तव्यतर्फ अघि बढ्न सक्षम भएका छन्। जिल्ला ट्राफिक प्रहरी इन्चार्ज टोप बहादुर महताराका अनुसार पानी परिरहेकाले पुनः पहिरो खस्ने सम्भावना रहेको छ।
उनले यात्रुलाई सकेसम्म यात्रा नगर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार असारयता गगने खोलामा मात्र २७ पटक पहिरो खसिसकेको छ ।
प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार