२०८३ वैशाख ४ , शुक्रबार

इन्द्र ज्योति माविमा दशै तिहारको शुभकामना आदानप्रदान



सुर्खेत । इन्द्र ज्योति माध्यमिक विद्यालयमा विजया दशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिर्जना रेग्मी (शाही) को अध्यक्षतामा आयोजित कार्यक्रममा शिवालय गाउँपालिका–६ का वडा अध्यक्ष धन बहादुर बुढा प्रमुख अतिथि थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले विद्यालयलाई राजनीतिकरण गर्न नहुने र शिक्षाको विकास सबैको जिम्मेवारी भएकोमा जोड दिएका थिए । उनले इन्द्र ज्योति माविलाई पछिल्लो समय अत्यन्त व्यवस्थित बनेको भन्दै विद्यालयका सम्पूर्ण परिवारलाई धन्यवाद दिए । बुढाले यस अवस्थामा विद्यालयलाई ल्याउन सबैको योगदान रहेको बताए ।

शिवालय–५ का वडाध्यक्ष गोपाले दमाइले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको सन्देश दिँदै इन्द्र ज्योति माविमा भने विद्यार्थीको संख्या बढेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रेग्मी (शाही) ले विद्यालय हजारौँ विद्यार्थीहरूको भविष्यसँग जोडिएको हुँदा विद्यालयलाई राजनीतिक थलोको रूपमा नलिन आग्रह गरिन् ।

उनले तीन वर्षको कार्यकालमा विद्यालयका विभिन्न समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालय प्रधानाध्यापक सर्मिला रावल (शाही) ले आफू प्रअ भइसकेपछि विद्यालयमा केही भौतिक सुधार गर्न सफल भएको बताउँदै अझै पनि धेरै समस्या समाधान गर्न लागिपर्ने आश्वासन दिइन् । कार्यक्रममा विद्यार्थीहरूले १३ समूहमा नृत्य प्रदर्शन गरेका थिए र उत्कृष्ट प्रदर्शनका लागि पुरस्कार पनि प्रदान गरिएको थियो ।

तस्बिरहरु हेर्नुहोस् :

 

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार