२०८३ वैशाख २६ , शनिबार
सामाजिक विकास मन्त्रीको प्रगति

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गरेको दाबी



सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुई महिने प्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सामाजिक मन्त्रालय सम्हालेको ६१ दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । मन्त्री भण्डारीले नागरिकका अपेक्षाहरूलाई ध्यानमा राख्दै विभिन्न चुनौतीहरूको बीचमा काम गरिरहेको दाबी गरे ।

पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशका मन्त्रीहरु पनि पत्रकारिताको रिपोर्टर जस्तै भएको उदारहण दिए । उनले भने, ‘हामी पनि तपाईहरु जस्तै रिपोर्टर हो, तपाईहरुको सम्पादकले तपाईले लेखेको समाचार हाल्न पनि सक्छ हटाउन पनि सक्छ । त्यसमा सम्पादकको हातको कुरा हो ।’ मन्त्री भण्डारीले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र संघीय सरकारलाई सम्पादकको उदाहरण दिएका हुन् । उनले स्वास्थ्य क्षेत्रको सुधारमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

मन्त्री भण्डारीले कर्णालीका लागि दिगो विकास लक्ष्य अनुसार स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्रालयको प्रयास गरिरहेको जानकारी दिए । उनीले स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारितामा सुधारका लागि कार्यदल गठन गरिएको र स्वास्थ्य क्षेत्रको विस्तारको लागि योजना बनाइएको पनि बताए । यस्तै कर्णालीमा आयुर्वेदिक औषधि उत्पादन भइरहेका र अन्य औषधिहरूको पनि अनुसन्धानका क्रममा रहेको मन्त्री भण्डारीले बताए ।

साथै उनले मुगु र जुम्लाका दुई पालिकालाई साक्षर घोषणा गरेको र कुपोषण दर घटाउनका लागि एकीकृत पोषण अभियान सुरु गरिएको उल्लेख गरे । महिला उद्यमीको लागि पहल र बालबालिका संरक्षणका लागि विभिन्न कार्यक्रमहरूको थालनी गरिएको पनि मन्त्री भण्डारीले बताए । शिक्षा क्षेत्रमा ग्रामीण केन्द्रीत शिक्षा प्रणालीलाई प्रवर्धन गर्ने र प्राविधिक शिक्षा सुदृढीकरणका लागि पहल गरिने उनको भनाइ छ ।

मन्त्री भण्डारीले स्वास्थ्य सेवामा जनताले अनुभूति गर्ने गरी सेवा संचालन गर्नका लागि योजना बनाइएको जानकारी दिए । यस्तै मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले मन्त्रालयको कार्यक्षेत्रमा सुधार ल्याउने प्रयास भइरहेको बताएका छन् । कार्यक्रममा दिगो विकास लक्ष्य र कर्णालीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराइएको थियो।मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने हरेक काममा सुधार ल्याउने प्रयास भइरहेको प्रतिबद्धता जनाए ।

संघ सरकारबाट कर्णाली सरकारलाई न्युन बजेट उपलब्ध हुने गरेको भन्दै भौगोलिक अवस्थाको आधारमा बजेट पठाउनुुपर्ने उनको भनाइ छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्काले स्वास्थ्य क्षेत्रमा बनेका नीति कार्यान्वयनको पक्ष बलियो बनाउन सके स्वास्थ्य क्षेत्र सुधार हुने बताए । कार्यक्रममा दिगो विकास लक्ष्य र कर्णालीको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी गराइएको थियो । दिगो विकास लक्ष्य हासिल गर्नेगरी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख वृष बहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधबार