२०८३ वैशाख ४ , शुक्रबार

सिम्ता गाउँपालिका–२ का वडाध्यक्षमाथि आक्रमण

जाहेरी दिने तयारी


वडाध्यक्ष खगेन्द्र सिंह

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–२ का वडाध्यक्ष खगेन्द्र सिंह ठकुरीमाथि आक्रमण भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ फुर्केसल्लीमा वडाध्यक्ष सिँहमाथि पालिकाका तीनजना कर्मचारीले आइतवार आक्रमण गरेका हुन् । पालिकाका प्राविधिक घनश्याम बस्नेत, रोजगार सहसंयोजक डिकेन्द्र के.सी र जेसिवी चालक कमल हमालले आफुमाथि हातपात गरेको वडाध्यक्ष सिँहले बताए ।

उनले आर्थिक लेनदेनको विषयलाई लिएर आइतवार हेलमेट र ढुंगामुढा प्रहार गरेको बताए । ‘मलाई भेट्न बोलाएर हेलमेट, ढुंगामुढा र हातले कुटे ।’ उनले भने, ‘मेरो दात र मुखमा चोट लागेको छ ।’ यता आरोपी बस्नेतले आफैलाई वडाध्यक्ष सिँहले उल्टो हातपात गरेको बताए । उनले आर्थिक लेनदेनको विषयमा विवाद हुँदा वडाध्यक्षसहित अर्का एकजनाले आफुलाई हेलमेट प्रहार गरेको बताए ।

‘मेरो धेरै रकम ल्याउनु थियो, बारम्बार माग्दा पनि उनले दिएनन्, सधै दिन्छु भनेर बहाना मात्रै गरे ।’ उनले भने ‘हिजो भेटेर कति पैसा हो हिसाव गरौँ भनेको मलाई उल्टो गाली गरेर उनले हेलमेट प्रहार गरे । मेरो हातमा चोट लागेको छ ।’ यता वडाध्यक्षले आफुमाथि कर्मचारीले कुटपिट गरेको र उनीहरुविरुद्ध कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिने तयारी गरेको बताए । सिँहले पनि बस्नेतबाट आफ्ना आर्थिक रकम ल्याउनुपर्ने दाबी गरेका छन् । यस विषयमा थप बुझ्नको लागि पालिका अध्यक्ष ऐनबहादुर चन्दलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।

प्रकाशित मिति : २०८१ पुस १ गते सोमबार