
सुर्खेत । कर्णाली प्रदेशमा प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्लेइङ्ग फर चेन्जको आयोजनामा बुधवार र बिहीबार सुर्खेतमा तेक्वादो प्रतियोगिता हुँदैछ । पहिलो पटक कर्णालीमा सेन्सर प्रविधिको प्रयोग गरी हुन लागेको तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरू सहभागी हुने आयोजक संस्था प्लेईङ्ग फर चेन्जका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।
सहिद दिवसको अवसरमा दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीको तयारीमा सघाउ उद्देश्यले तेक्वान्दो प्रतियोगिता गरिएको उनको भनाइ छ । कर्णाली प्रदेश रङ्गशालामा हुने तेक्वान्दो प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नेछन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग, तेक्वान्दो सङ्घ कर्णाली प्रदेशको समन्वय र प्लेईङ्ग फर चेन्जको आयोजनामा हुने प्रतियोगितामा विजेताले मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउने बताइएको छ ।