२०८३ वैशाख ४ , शुक्रबार

दसौँ राष्ट्रिय खेलकुदको मिति नसार्न परिषद्लाई मुख्यमन्त्री कँडेलको आग्रह



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको मङ्गलवार काठमाडौँमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौलता बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई आग्रह गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ ३ देखि १० गतेसम्मको मिति तय गरेको छ । पटक पटक मिति सरेपछि मङ्गलवारको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् । ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन ।,’ उनले भने, ‘तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन । विश्वासिलो बन्ने परिस्थिति म देख्छु ।’

प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रङ्गशाला लगायतका कामहरूलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडी बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने बताए ।

उनले भने, ‘यो प्रतियोगिताको मुख्य आयोजक सङ्घीय सरकार भएकोले तपाईँहरूले ढङ्ग पु¥याउनुहोला, हामी सह–आयोजक भएको नाताले हामीलाई तोकिएको जिम्मेवारी हामीले पुरा गर्छौ।’ प्रतियोगिताको लागि निर्देशिका बनाउने कुरामा पनि मुख्यमन्त्री कँडेलले खेलकुद मन्त्रालयले समन्वय नगरेको बताए ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार