काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइ दिन्छ भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो सात साल नभएको भन्दै शाहलाई यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘यो सात साल होइन । त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइ दिएझैं अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ ।’
योगी आदित्यनाथको तस्बिर बोकेर प्रदर्शन भएको भन्दै रिजालले भने, ‘तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा ‘हिन्दू–सम्राट’ भनेर दाबी गर्ने ज्ञानेन्द्रले कोशिस गर्दा पनि निम्तो नपाइएको भर्खरै हो ।’ यस्तै उनले गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको समेत उल्लेख गरेका छन् ।
आइतबार पूर्वराजाको पक्षमा अभियान चलाउँदै आएका समर्थकहरूले उनको तस्बिरसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको ठूलो तस्वीर समेत बोकेका थिए । पूर्वराजाको आगमनका क्रममा समर्थकहरू राष्ट्रिय झण्डा, ब्यानर र नारासहित उपस्थित भए ।
तर, भारतका एक मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन गर्नुको कारणबारे विभिन्न प्रश्न उठेका छन् । सामाजिक सञ्जालमा यस विषयमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले नेपाली राजसंस्थाको पुनर्स्थापनासँग भारतीय नेताको सम्बन्ध किन जोडिएको भनेर आलोचना गरेका छन् भने केहीले हिन्दु राष्ट्रवादको अन्तर्राष्ट्रिय ऐक्यबद्धतासँग जोडेर हेरेका छन् ।