२०८३ जेठ २० , बुधबार

उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र



कुलेन्द्र शाही, सुर्खेत । २५ चैत २०७९ सालमा पुर्व उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एउटा पुलको शिलान्यास गर्दै कर्णालीमा पूर्वाधार क्षेत्रको विकासलाई वर्तमान सरकारले पहिलो प्राथमिकता दिने बताएका थिए । त्यतिबेलाको समयमा उनी उपप्रधान एवम् रक्षामन्त्री बनेका थिए ।

सुर्खेतको भेरिगंगा नगरपालिका–२ स्थित छिन्चु खोलामा पक्की पुलको शिलान्यास गर्दै उनले कर्णालीका दुरदराजका नागरिकहरूलाई यातायात सेवासँग जोड्नका लागि पूर्वाधार निर्माणको गति बढाउनुपर्ने भन्दै संघीय सरकारबाट प्राप्त भएको बजेट कार्यान्वयन समयमै गर्नुपर्नेमा जोड दिएका थिए । उनले भनेका ‘सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ र २ का नागरिकहरूलाई छिन्चु खोलामा पुल नहुँदा यातायात सेवा लिन समस्या भइरहेको थियो ।

पुलको शिलान्यास गर्दै उपसभापति पूर्णबहादुर खड्का

यहाँ पुल निर्माणका लागि २०७७ सालदेखि निरन्तर लागेर बजेट प्राप्त गर्न सकिएन । अहिले २०७९ सालको अन्त्य तिर ठेक्का सम्झौता भई निर्माणको कार्य थालनी हुँदा निकै खुसी छु ।’ उनले उक्त कुरा भनेपछि पुल शिलान्यसमा उपस्थित भएका नागरीकहरुबाट बरर तालीको ओइरो लाग्यो । पुल शिलान्यासमा उपसभापति खड्कासँगै कर्णाली प्रदेश सरकारका पुर्व कानुनमन्त्री एवम् प्रदेश सांसद कृष्णबहादुर जिसी समेत उपस्थित थिए ।

उनले उक्त समयमा गठबन्धन सरकारको प्रमुख एजेण्डा नै विकास र समृद्धि रहेको बताएका थिए । उनीहरुले समयमै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन समेत गरेका थिए । तर, उनीहरुले दिएको निर्देशनमाथि नै प्रतिपश्न व्यवसायीले गरिरहेका छन् । पुल ९५ मिटर लम्बाईको हुने भनिएको थियो । सोहीअनुरुप पुल श्री अन्जना–वाई.एसएस जे.भीले १७ करोड ७२ लाख ५८ हजार ९ सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त ठेक्का सम्झौता १५ फागुन २०७९ मा भई आगामी २०८२ साल वैशाख १५ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने समयावधि थियो । तर बैसाखसम्म पुलको काम रातदिन गरेपनि सम्पन्न हुने छाटकाट छैन् । समयावधि सकिन करिब २ महिना बाँकी छ । तर पुलको भौतिक प्रगति भने दुईवर्षमा ३० प्रतिशत मात्रै छ । हालसम्म फिल्डमा पाइल र एउटा पिल्लर मात्रै ठडिएका छन् । हाल फिल्डमा पुल निर्माणकोे काम गत असारदेखि रोकिएको छ ।

हाल निर्माण अलपत्र परेको पुल

यसरी तामझामका साथ शिलान्यास गरिएको पुलको काम रोकिएपछि यहाँका स्थानीयलाई निकै सास्ती भएको छ । उनीहरुले पुलको लागि विभिन्न निकायलाई माग गरेपनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन् । होटल व्यवसायी तथा स्थानीय पत्रकार चिन्तामणि शर्माले साविक लेकपराजुलका वडा नं १, २ र ३ नम्बर वडामा एउटा पनि पुल नबन्दा बर्षातको समयमा यो साविकको गाउँपालिका पुरै संसारसंग विच्छेद हुने गरेको बताए ।

उनले बर्खामा लेकपराजुलका विद्यार्थी सहज रुपमा विद्यालय जान सक्ने अवस्था समेत नरहेको उल्लेख गरे । शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘भेरी नदीमा बोटेचौर, मेहलकुना, रामघाट जस्ता ठाउँमा यति छोटो दुरीमा पुल बन्दा पावर र पहुँच नभएका जनता बस्ने । यो ठाउँको पुल बनाउन कोही सरोकारवाला तयार हुनुहुन्छ ? यताको जनता पनि नेपाली नै हुन भन्ने तपाईंहरुलाई लाग्छ ?,’

साथै उनले प्रतिनिधि सभाका सदस्य एवम् कांग्रेसका उपसभापति खड्का, प्रदेश सभा सदस्य कृष्ण जिसी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई र प्रदेश सभा सदस्य खड्क खत्रीलाई पुल अलपत्र परेको जानकारी दिँदै यस ठाउँको पुल बनाउन कोही सरोकारवाला तयार हुनुहुन्छ ? यताको जनता पनि नेपाली नै हुन भन्ने तपाईंहरुलाई लाग्छ ? भन्दै प्रश्न गरेका छन् ।

पुल निर्माणको लागि भौतिक पुर्वाधार विकास कार्यालयले बजेट विनियोजन नगरेको हुँदा पुलको काम असारदेखि रोकिएको सडक डिभिजन कार्यालय सुर्खेका कार्यालय प्रमुख इन्जिनियर खुम बहादुर भण्डारीले बताए । ‘पुल निर्माणको लागि बजेट छैन्, ठेकेदारलाई हामीले काम गर पनि कसरी भन्नु ।,’ उनले भने, ‘पहिलेकै रकम त दिन सकिएको छैन तै पनि हामीले रकम माग गरेका छौ । हेरौ के हुन्छ ।,’

हिउँदमा धुलो र धुवा तथा बर्खामा हिलो र खोलाले यहाँका स्थानीयलाई वारपार गर्न निकै समस्या बनाएको वडाध्यक्षहरुको भनाइ छ । भेरीगगा नगरपालिका–२ का वडाध्यक्ष चिरन्जीवी बुढाले छिन्चु खोलामा पुलको काम अलपत्र पर्दा स्थानीयहरुलाई निकै समस्या भएको बताए । उनले आफुले पुल निर्माणको लागि बाराम्बर ताकेता गर्दा पनि सडक डिभिजन र ठेकेदार कम्पनीले बजेट नभएको बताउँदै झाटो टार्ने जवाफ दिने गरेको उल्लेख गरे ।

उनले शिलान्यास गर्ने बेलामा तामझामका साथ गरेपनि पुल निर्माणमा भने उपसभापति खड्काले चासो नदिएको बताए । उनले छिन्चु खोलामा पुल नहुँदा भेरीगंगा–१ र २ का मान्छेलाई निकै सास्ती भएको बताए । बर्खामा पानीको बहाव बढ्ने हुँदा मोटरसाइकल, गाडी केही पनि नचल्ने हुँदा यहाँ स्थानीयलाई झनै समस्या हुने गरेको उनको भनाइ छ ।

यस्तै पुल निर्माणको जिम्मा पाएका ठेकेदार शेरबहादुर बुढाले काम गरेवापतको करिब २ करोड ५९ लाख रकम आफुले नपाएको हुँदा पुलको काम रोकिएको जानकारी दिए । ‘मैले करिब २ करोड ५९ लाख रकम काम गरेको पाउन बाँकी छ ।’ उनले भने, ‘पुर्वाधारले पुल निर्माणको लागि बजेट पनि छुट्टाएको छैन रे, त्यही भएर सडक डिभिजनले नै हामीलाई काम नगर भनेको छ ।,’

उनले थपे, ‘रकम नै नभएपछि हामीले कसरी काम गर्नु सडक डिभिजनका सरहरु बजेट मागको लागि लागिरहनुभएको छ । यदि बजेट भयो भने हामी का मगर्न तयार छौ ।’ कार्यालय प्रमुख भण्डारीले पनि गत वर्ष काम गरेको करिब ३ करोड ३६ लाख रकममा यस वर्षको बजेटबाट ८० लाख रुपैयाँ व्यवसायीलाई दिएको र अरु २ करोड ५९ लाख रकम दिन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ चैत १६ गते शनिबार