२०८३ जेठ २० , बुधबार

सहास नेपालको ‘पाइला परियोजना’ : ग्रामीण कृषिमा आत्मनिर्भरताको यात्रा



कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर-९ मा सहयोगी हातहरुको समूह (सहास) नेपालले पाइला परियोजना अन्तर्गत जलवायु उत्थानशिल सम्बन्धि फिल्ड अवलोकन तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । सन् २०२२ देखि २०२५ सम्म नरहरिनाथ गाउँपालिकालाई जलवायु उत्थानशिल पालिका घोषणा गर्ने लक्ष सहित नरहरिनाथ गाउँपालिका नौ वटै वडामा काम गरिरहेको सहास नेपालले हालसम्मको प्रगति प्रतिवेदन सहित जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै जलवायु उत्थानशील पालिका सम्बन्धि समुदाय र सरोकारवालाबीच अन्तरसंवाद कार्यक्रम गराएको हो ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रबहादुर शाही वडा नम्बर ९ का वडाअध्यक्ष प्रदिप बोहोरा, ८ का वडा अध्यक्ष लालबहादुर बिष्ट वडा नम्बर ९ को कृषक समूह, किशोरी संवाद लगायत सञ्चारकर्मीहरूको सहभागिता कार्यक्रम आयोजना गरिएको थियो । सहास नेपालले पाइला परियोजनाअन्तर्गत नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा समाज परिवर्तन कृषक समूहमार्फत जलवायु परिवर्तन अनुकूलन, खाद्य सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी निकै राम्रो काम गरिरहेको समाज परिवर्तन कृषक समूहकी अध्यक्ष कौशिला नेपालीले बताए ।

उनले भने, ‘कुनै समयमा हामी ससाना कार्यक्रममा आफ्नो परिचय समेत दिन सक्दैनौं थियौं तर, अहिले सबैसामू आफ्नो परिचय दिन सक्ने भएका छौ’ सहास नेपालले हाम्रो व्यक्तिगत जीवनमा अमूल्य परिवर्तन ल्याएको उनले बताइन ।यतिमात्र होइन ‘हामीले समूह मार्फत प्याज, टमाटर, आलु, बन्दा, केराउ जस्ता तरकारी उत्पादन गर्न थालेका छौं त्यसलाई बिक्री गरेर अहिले जीवनयापन गरिरहेको उनले सुनाइन ।

सहास नेपालले गाउँमा कार्यक्रम ल्याएर आएदेखि हामी महिला कृषिमा आत्मनिर्भर बन्दै गएको उनकाे भनाइ छ । यस्तै, उक्त समूहकी किसान तारा शाहीले सहास नेपालले आफूहरूलाई कृषि क्षेत्रमा निकै सहयोग गरेको सुनाउनुभयो । उहाँले कृषि पेसामा समाज परिवर्तन कृषक समूहहरूले निकै राम्रो आम्दानी गरेकाले यो कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत बनेको बताए । सहास नेपाल गाउँमा भित्रिएपछि अहिले नरहरिनाथ गाउँपालिकाका ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहयोगी हातहरूको समूह (सहास) नेपालको पाइला परियोजना सहयोगी बन्दै गइरहेको स्थानीयको भनाइ छ ।

संस्थाले कम आयस्रोत भएका किसानको घरमै गएर उनीहरूलाई सहयोग गर्दै आएको छ । सहासले किसानलाई सहयोग गरेपछि यहाँका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएका हुन् ।

नरहरिनाथ गाउँपालिका-९ कै डिला परियारले सहास नेपालले कृषि पेसाबाट आम्दानीको स्रोत जुटाउने काम गरेको सुनाइन । ‘पहिले महिलासँग एक रुपैयाँ हुन्थेन, जब सहास नेपालले आफूहरूलाई कृषि पेसामा लाग्न प्रेरित गर्यो त्यसपछि महिलाको पकेटमा समेत पैसा हुन थाल्यो ।,’ उनले भनिन् । ‘कृषि पेसा गर्नुहुन्न जागिर खानुपर्छ भन्छन् तर, जागिर खाएको मान्छे पनि छोडेर कृषि पेसामा लागेका छन्, त्यसैले अब नेपालमा कृषि पेसाबाटै केही गर्न सकिन्छ जस्तो लाग्छ ।,’

जलवायु परिवर्तनका कारण कृषकहरूमा पर्ने समस्या कम गराउनका लागि उपलब्ध हुने थोपा सिँचाइ, प्लास्टिक घर, खेर जाने पानी सङ्कलन टट्याङ्की पशुमुत्र सङ्कलन र तरकारी खेतीमा प्रयोग, उन्नत कृषि औजार र मौसमको पूर्वानुमान म्यासेज आउने गर्नाले आफूहरूलाई निकै सहज भएको समूहका कृषक महिलाहरुले बताएका छन् । समूहका प्रायः सबै महिलाहरूले जलवायु परिवर्तनको कारण र असर बुझ्न सक्ने भएको बताउँदै दिगो कृषि प्रणालीका लागि स्थानीय रैथाने बालीको संरक्षण गर्नतर्फ लागरहेको बताएका थिए ।’

यस्तै परियोजनाले किशोरी संवाद सञ्चालन समेत गरेको छ । यसले गर्दा समुदायमा रहेका व्याप्त कुसंस्कार कुरीति छुवाछुत, बालविवाह न्यूनीकरण, विद्यालय निरन्तरता लगायतमा किशोरीहरूको निकै सक्रियता बढेको देखिएको छ । सहास नेपाल पाइला परियोजनाका परियोजना संयोजक विसान थापाले पालिकाको योजनाले मात्र सम्भव नरहेकाले नरहरिनाथका ९ वटै वडामा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेको जानकारी दिए ।

‘खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौ, संयोजक थापाले भने, ‘आफ्नो बारीमा केही लगाउन सधैँ सरकारले सहयोग गर्ला र केही गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ, त्यसलाई चिर्न र व्यवसायमा रुचि बढाउन हामीले पालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ ।’ यस्तै अनुगमन अधिकृत खगेन्द्र बिकले नरहरिनाथका स्थानीयलाई सहास नेपालले कृषि पेसामा निकै योगदान गरिरहेको जानकारी दिए ।

जलवायु परिवर्तन अधिकृत संगीता पालले परियोजनाका प्रगति प्रस्तुत गरेकी थिइन् । उनले मुख्यत घरबगैंचा व्यस्थापन, प्राङ्गारिक खेतीका लागी सिप र प्रबिधि साथै आयआर्जनका कृयाकलापहरुमा केन्द्रित हुँदै परियोजना सञ्चालन भइरहेको विवरण प्रस्तुत गरिन्र्नु । अधिकृत पालले जलवायु उत्थानशिल गाउँको अभियान र जलावायुमैत्री प्रबिधिको प्रयोगमा जोड दिँदै उत्थानशिल गाउँ बनाउने अभियानमा सहयोग गरिरहेको बताइन ।

गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले आफ्नो गाउँपालिकामा सहास नेपालले कृषि पेसामा अग्रसर हुन निकै जोड दिएको बताए । उनले स्थानीय सरकारको काम सहास नेपालले गरेको समेत उल्लेख गरे। उनले नरहरिनाथमा सहास नेपाल र पालिकाको साझेदारीमा कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत स्पष्ट पारे। उपाध्यक्ष शाहले सहासले किसानलाई सहयोग गरेपछि यहाँका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गइरहेको बताउँदै गाउँपालिकाका किसानहरूलाई सहासले तरकारी, पशुपन्छी, बाख्रा, वितरण गर्ने गरेर आत्मनिर्भर बनाउनमा जोड दिएको बताए ।

परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएको उनकाे भनाइ छ । स्थानीय सरकार र सहास नेपालको साझेदारीमा विभिन्न कार्यक्रम गर्न सफल भएको हुँदा पछिल्लो समय कृषि पेसामा धेरैको आम्दानी राम्रो भएको वडा नम्बर-९ का अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले बताए । उनले गाउँपालिकामा आगलागी जन्य घटनाका कारण पानीका मुहान सुक्न जाँदा जलवायुमा असर गरेको उल्लेख गरे।

अब यसलाई न्यूनीकरण गरी पालिकालाई नै जलवायु उत्थानशीलका लागि सहास नेपालले निकै योगदान दिएको बताए  । उनले कृषकलाई पानीका मुहान संरक्षण गर्न, पोखरी बनाउने, कृषि क्षेत्रमा अग्रसर हुन आग्रह गरे । साथै सहाससँगको सहकार्यलाई सुदृढ पार्ने र समीक्षा सत्रहरूमा प्राप्त सिफारिस गरिएका सुझावहरूको लागि अपनाउने संयन्त्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सहास नेपालले हाल कालीकोटको नरहरिनाथ गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार