२०८३ जेठ १९ , मंगलबार

६५ रोपनीमा लगाइएको अफिम खेती नष्ट



अफिमको अवैध खेती नष्ट गर्दै सुरक्षाकर्मी । तस्बिर : कुलेन्द्र शाही

सुर्खेत । जाजरकोट प्रहरीले पहाडी भेगमा अफिम खेती गरेको पत्ता लागेपछि त्यसलाई नष्ट गरेको छ । आइतबार जाजरकोटको नलगाड नगरपालिका–१ खौला गाउँमा अवैध रूपमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय दल्ली, जाजरकोटबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमाण्डमा खटिएको २० जनाको प्रहरी टोलीले घटनास्थलमा पुगेर करिब ६५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए ।

‘प्रहरी टोलीले कसैको पनि नाममा नभएको जग्गामा लगाएको अफिम आइतबार नष्ट गरेको हो,’ निरीक्षक डाँगीले भने, ‘अन्यत्र पनि खेती भए नभएका बारेमा पनि खोजी भइरहेको छ ।,’ उनकाअनुसार प्रहरीले अवैध लागुऔषधजन्य बाली विरुद्धको अभियान अन्तर्गत अफिम खेती नष्ट गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार