सधैँ गोदाममै थन्किन्छन् कर्णालीका पाठ्यपुस्तक

कुलेन्द्र शाही
कुलेन्द्र शाही २८ चैत्र २०८१, बिहीबार १८:४६

सुर्खेत । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयको गोदाममै पाठ्यपुस्तक थन्किएका छन् । कर्णालीका सबै जिल्लामा पुग्ने गरी कार्यालयमा पाठ्यपुस्तक आएपनि थोक बिक्रेताले जिल्ला जिल्लामा पाठ्यपुस्तक नलग्दा प्रदेश कार्यालयको गोदाममै पाठ्यपुस्तक थन्किएका हुन् । प्रदेश कार्यालयमा आएर पाठ्यपुस्तक विक्रेताहरूले नलिएका कारण जिल्लाहरूमा पुस्तक पुग्न नसकेको जनक शिक्षा सामाग्री कर्णालीका प्रमुख भैरवबाबु पन्तले जानकारी दिए ।

उनकाअनुसार केन्द्रको तालिका बमोजिम चैत १२ गतेदेखि पुस्तक वितरण सुरु गरिएको थियो । यो आर्थिक वर्षको लागि आवश्यक पर्ने २५ हजार थान पुस्तक गोदाममा ल्याएको उनले बताए । पुस्तक वितरकले चाहे यो वर्ष समयमै विद्यार्थीहरूको हात हातमा पाठ्यपुस्तक पुग्ने देखिन्छ तर अहिलेसम्म वितरकहरूले पुस्तक लिन खासै चासो भने देखाएका छैनन् ।

पन्तले समय अगावै सबै पाठ्यपुस्तक शाखामा आइपुगेका र सम्पूर्ण पुस्तक वितरकहरूलाई पाठ्यपुस्तक लगी विद्यार्थीहरूको पठनपाठनमा सहज बनाइदिन आग्रहसमेत गरे । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वितरकको ढिलासुस्तीका कारण विद्यार्थीको सिकाइमा गम्भीर असर पर्ने सम्भावना देखिएको छ । कर्णालीका डोल्पा, रुकुम पश्चिम, सल्यान र जाजरकोटका केही क्षेत्रले भने नेपालगन्जदेखि पुस्तक लैजाने गरेका छन् ।

१६ हजार पुस्तक गोदाममै
केन्द्रले कर्णालीका दैलेख, सुर्खेत, मुगु, कालीकोट, जुम्ला, हुम्ला र जाजरकोटका केही क्षेत्रलाई लक्षित गरेर २५ हजार सेट पाठ्यपुस्तक सुर्खेत पु¥याएको थियो । पाठ्यपुस्तक पु¥याएर विक्री वितरण गर्न सुरु गरेको २ हप्ता बढी बितिसक्दासमेत सम्बन्धित निकायहरूले चासो नदिँदा करिब १६ हजार थान पाठ्यपुस्तक गोदामभित्रै थन्किएका प्रमुख पन्तले बताए ।

प्रादेशिक शाखा सुर्खेतका अनुसार १२ चैतदेखि हालसम्म ८–१० हजार सेट बराबरका पाठ्यपुस्तक मात्र विक्री वितरण भएका छन् । तीमध्ये दैलेखमा कक्षा ६ देखि १० सम्मका लागि १ हजार ८०० सेट, सुर्खेतमा कक्षा ६ देखि १० कक्षासम्मका लागि २ हजार सेट र कक्षा ३ का लागि ८०० सेट पाठ्यपुस्तक गएका छन् ।

जाजरकोटमा कक्षा ६ देखि १० सम्मका लागि १ हजार सेट, कक्षा ५ का लागि ३०० सेट, कालीकोटमा कक्षा ६ देखि १० सम्मका लागि २ हजार ५०० सेट, कक्षा ५ का लागि १ हजार सेट र कक्षा ३ का लागि ४०० सेट र जुम्लामा कक्षा ६–१० सम्मका लागि १ हजार सेट, कक्षा ५ का लागि ३–४ सय सेट पुस्तक गएका छन् । हुम्लामा गत माघमै पाठ्यपुस्तक पुगेको थियो ।

यस्तै मुगुमा पनि पाठ्यपुस्तकको लागि पालिकाले खातामा रकम पठाएको र वितरक सम्पर्कमा आएको बताए । जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए पनि उक्त कार्य योजनाभित्र किताब ढुवानी हुन सकेको छैन । बिक्रेताले पाठ्यपुस्तक लिन नआएपछि तोकिएको तालिका अनुसार जिल्ला–जिल्लाका पुस्तक ढुवानी हुन नसकेको उनले बताए । केही छिटपुट मात्रामा गए पनि भारी मात्रामा पाठ्यपुस्तकहरू ढुवानी हुन बाँकी छ ।

Next Post

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा धेरै सुधार भएको दाबी

२८ चैत्र २०८१, बिहीबार १८:४६
प्रकाश शाही, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि विवरण सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कँडेलले २०८० चैत्र २८ देखि २०८१ चैत्र २७ गतेसम्मको प्रगति सार्वजनिक गरेका हुन् । नेकपा एमालेको संसदीय दलको नेता रहेका कँडेल ०८० चैत २८ गते मुख्यमन्त्री […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930