२०८३ जेठ २० , बुधबार

उत्पादन बढाउन शिवालयमा माटो परीक्षण



जाजरकोट । माटोको गुणस्तर र उर्वराशक्ति बढाउन जाजरकोटको शिवालय गाउँपालिकामा निःशुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ । शिवालय गाउँपालिका कृषि विकास शाखा जाजरकोटको आयोजना, एकीकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोग र सहयाेगि हातहरूको समूह (सहास) नेपालको पाइला परियोजना संस्थाको सहजीकरणमा एक दिने माटो परीक्षण शिविर सम्पन्न भएको हो ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउन, माटोको सुक्ष्मतत्वको अवस्था र त्यसको उपचार विधिका विषयमा किसानलाई जानकारी गराउन एक दिने शिविर सञ्चालन गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए । उनले प्रयोगशालामा गएर आफैले माटो परीक्षण गराउन खर्चिलो र झन्झटिलो हुने भएकाले आफूहरूले पालिकामा शिविर सञ्चालन गरेको बताए ।

माटोमा अम्लीयपना बढी, उत्पादकत्व घटेको अवस्थालाई मध्यनजर गर्दै माटोको अवस्थामा सुधार ल्याउन शिविरको आयोजना गरेका हौँ,’ उनले भने, ‘यसले किसानलाई माटो सुहाउँदो व्यावसायिक खेतीतर्फ आकर्षित गराउनको लागि मद्दत गर्नेछ ।’ शिविरमा कृषकहरूले सुन्तला, ओखर, चिया, आलु, कफी, धान, मकै, गहुँ, कोदोलगायतका खेती लगाउने माटोको नमुना ल्याएका थिए ।

गाउँपालिकाका १ देखि ९ वटै वडाका कृषकहरूले खेतबारीबाट ल्याएको १ सय २३ वटा नमुना माटोको परीक्षण कीट बक्सको माध्यमबाट गरिएको शिवालय गाउँपालिकाका कृषि प्राविधिक सहायक विश्वामित्र शर्माले जानकारी दिए । किसानबाट प्राप्त १ सय २३ वटा नमुना विश्लेषण गर्दा प्रायः माटोको पी.एच तटस्थ रहेको र नाइट्रोजन फस्फोरस र पोटास न्यून मात्रामा देखिएको थियो ।

यस्तै माटोको अवस्था तथा माटोको उर्वराशक्ति बढाउन कुन विषादी प्रयोग गर्ने, आफ्नो खेतबारीमा मलको मात्रा कति प्रयोग गर्ने र माटो परीक्षण गर्ने किसानलाई स्वायल हेल्थ कार्ड उपलब्ध गराएको शर्माले बताए । उनले माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेको बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको बताए ।

माटो परीक्षणको समग्र रिपोर्ट विश्लेषण गर्दा माटोमा अम्लीयपना बढी रहेको पाइएको छ । जसमा क्रमशः पिएच ४.०–५.०, प्राङगारिक पदार्थ कमदेखि मध्यम, नाइट्रोजन कमदेखि मध्यम, फस्फोरस मध्यमदेखि उच्च र पोटास उच्च रहेको पाइएको छ । यस क्षेत्रको ९० प्रतिशत माटोमा अम्लीयपन बढी देखिएकाले त्यसमा सुधारका लागि किसानले कृषि चुन प्रयोग गर्नु आवश्यक रहेको उनको भनाइ थियो । परियोजनाले माटोको उर्वराशक्ति बढाउन निःशुल्क विषादीसमेत किसानलाई वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवालय गाउँपालिकामा अध्यक्ष शेरबहादुर शाहीले माटोको वस्तु स्थिति बुझेर खेती योग्य जमिनको गुणस्तर कायम राख्न र दिगो रूपमा उर्वरता राख्नको लागि पालिकाबाट ठोस किसिमको कार्यक्रम ल्याउने बताए । अध्यक्ष शाहीले माटो परीक्षणको विश्लेषणका आधारमा माटो सुधार गरी यसै आर्थिक वर्षमा कफी लगाउने योजना बनाएको बताए ।

उनले पालिका किसानलाई निःशुल्क कफीको बिउ उपलब्ध गराई नर्सरी स्थापना गरेको बताउँदै किसानलाई चिया खेतीको समेत परीक्षण गरिरहेको बताए । उनले माटोको परीक्षण गरेर कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । अध्यक्ष शाहीले माटोको नतिजाको आधारमा आगामी दिनमा तोकिएको क्लष्टर अनुसार माटो र मलखाद सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

पालिकामै भएको माटो परीक्षण शिविरमा आफ्नो बारीको माटो बोकेर किसानहरूले उल्लेखनीय सहभागिता जनाएका थिए । उनीहरूले आफ्नै घरको आँगनबाट आफ्नो खेतबारीको माटो जाँच गर्न र माटोको अवस्थाको बारेमा सहजै बुझ्न पाएकोमा खुसी व्यक्त गरे ।

 

प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार