२०८३ जेठ १६ , शनिबार

अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा



सुर्खेत । दैलेखमा करेन्ट लागेर मृत्यु भएका नगेन्द्र माझीका आफन्तले विद्युतले क्षतीपूर्ति दिने सहमतिमा अवरुद्ध गरिएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सदरमुकाम दैलेख बजारदेखि पश्चिममा पर्ने राकम कर्णालीमा करेन्ट लागेर माझीको आइतबार साँझ मृत्यु भएपछि आफन्तले आज विहानैबाट कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए ।

नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी र पीडित परिवारसँगको सहमतिमा बन्द भएको राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । सहमतिमा मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुन अनुसार पाउने क्षतीपूर्ती मध्य एक लाख काजकिरियाका लागि रकम उपलव्ध गराउनेसमेत सहमति भएको उनको भनाइ छ ।

पीडित परिवारसँग सहमति भएसँगै सोमबार विहानैबाट राकम कर्णाली बजारमा अवरुद्ध राजमार्ग सञ्चालनमा आएको खड्काले जनाए । आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय माझी आइतबार साँझ घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।

माझी चढेको रुखमा विद्युतको तारले छोएको र करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । मृतक माझीको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल ल्याउन लागिएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २२ गते सोमबार