
कालीकोट । जिल्लाकाे रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।
स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादको क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्य योगीको कानमा चोट लाग्ने गरी कुटपिट गरेका थिए। घाइते योगीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ र उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ।
वडा नं ३ का वडाध्यक्ष राजेन्द्र योगीले यो केवल दुई व्यक्तिको व्यक्तिगत विवाद मात्र नभई शिक्षकजस्तो सम्मानित पेशाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना भएकाे बताए ।
शिक्षकहरूको सामाजिक जिम्मेवारीबारे निरन्तर बहस भइरहेका बेला आएको यस घटनाले शिक्षण पेशाभित्रको अनुशासन, मदिरा दुरुपयोग, र सार्वजनिक आचरणबारे कठोर पुनरावलोकनको आवश्यकता भएकाे उनकाे दाबी छ । विभिन्न संघसंस्था र नागरिक समाजले दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।