
निर्माण कार्यको रिवन काटेर शिलान्यास गर्दै नगर प्रमुख डम्वरबहादुर रावत ।
जाजरकोट । जाजरकोटको नलगाडमा नगरपालिका–८ मा रहेको तातोपानीलाई व्यवस्थित गर्न लागिएको छ । नलगाड नगरपालिका कायाखेतस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको हो । यहाँ केही समयअघिदेखि पानीको मुहानबाट तातापानी निस्किने गरेको छ ।
पानीलाई पोखरीमा संकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले संघीय सरकारको ८१ लाख रूपैयाँको लागतमा नगरपालिकाले पूर्वाधार निर्माण थालेको नगरपालिकाका इन्जिनियर उमेश खड्काले जानकारी दिए । उनले गत शनिवार मात्रै लागि नगरप्रमुख डम्मरबहादुर रावतले पुर्वाधार निर्माणका शिलान्यास कार्य सुरु गरेको बताए ।
लामो समयदेखि यहाँ तातोपानी आइरहेकाले यसलाई व्यवस्थित बनाउन लागेको उनको भनाइ छ । ‘धेरै पहिलेदेखि तातोपानी रहेको छ, हामीले चिसो मौसममा पनि आएर पानी परीक्षण ग¥यौँ, त्यतिबेला पनि तातोपानी आयो ।,’ उनले भने, ‘शनिवार मात्रै मेयरसावले शिलान्यास गर्नुभयो, अब व्यवस्थित बनाउँदै छौ,’ उनले ग्याविन, सेलवाल, पाइपलाइन, पानी संकलन हुने कुण्ड लगायतका संरचना निर्माण हुने बताए ।
संरचना निर्माणका लागि एसजीके कन्ट्रक्सन प्रालिले करिब ५४ लाख रुपैयाँमा १५ असारमा सक्ने गरी सम्झौता गरेको छ । कम्पनीले १५ असारसम्म सक्ने गरी तीव्र गतिमा काम गर्ने बताएको इन्जिनियर खड्काले जानकारी दिए । उनकाअनुसार संरचना निर्माणपछि पुर्ण रुपमा पानी परीक्षण गरेर व्यवस्थित बनाइने छ । ‘यहाँका हाडजोर्नी, नशा वाथ रोग र छाला रोग लागेका बिरामीले यो पानी प्रयोग गरेर सञ्चो भएको बताएका छन् ।’
उनले भने, ‘खासमा पानी प्रयोग गर्न मिल्छ मिल्दैन । केही समस्या निम्ताउँछ कि संरचना निर्माणपछि पानीलाई परीक्षण गर्छाै,’ यता नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले तातोपानीलाई व्यवस्थित बनाएर आन्तरीक पर्यटक भित्राउने योजना नगरपालिकाको रहेको बताए ।
उनले आन्तरीक पर्यटक आएमा अन्य व्यवसायमा समेत टेवा पुग्ने विश्वास लिएको बताए । तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास स्थानीयमा रहेको उनको भनाइ छ ।