२०८३ जेठ २० , बुधबार

भेरीगंगामा एक महिने मोटर ड्राइभिङ तालिम



बिनोद घिमिरे, भेरीगंगा । भेरीगंगामा युवालाई रोजगारमुखी बनाउन एक महिने मोटर ड्राइभिङ तालिम दिइँदै छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको आयोजनामा १० जनाले निःशुल्क ड्राइभिङ तालिम लिँदैछन् । आर्थिक वर्ष २०८१/०८२ स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवालाई स्वरोजगार बनाउन निर्देशनालयले ‘बुद्ध मोटर ड्राइभिङ सेन्टर’लाई तालिमको जिम्मा दिएको छ ।

भेरीगंगा नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकालले पालिकाले माग गरे अनुरूप कार्यक्रम उपलब्ध गराएकोमा निर्देशनालयलाई धन्यवाद व्यक्त गरे । उनले सिप पश्चात् पेसागत रूपमा व्यवसाय सञ्चालन गर्न सहभागीलाई आग्रह गरे । त्यस्तै युवाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले जानकारी दिए ।

भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले सिपको सही सदुपयोग गर्न अनुरोध गरिन् । ड्राइभिङ तालिम लिन पाउँदा सहभागी उत्साहित देखिएका छन् । तालिम १ महिनासम्म चल्ने छ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार