२०८३ जेठ २० , बुधबार

सिम्तामा दुई सडकको कालोपत्रे सुरु

असारभित्र सम्पन्न गर्ने लक्ष्य


सुर्खेत । सिम्ता गाउँपालिका अन्तर्गतका दुई महत्वपूर्ण सडकको कालोपत्रे कार्य सुरु गरिएको छ । सहिद इन्द्र विसी द्रुत मार्गमा कालोपत्रे सुरु गरिएको छ भने सहिद ऋषि चक्रपथ सडकमा बेस हाल्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ । गाउँपालिकाले यी सडकलाई गौरवका योजनाको रूपमा अघि सारेको हो ।

सहिद इन्द्र विसी द्रुत मार्ग वडा नम्बर ५ को गोजी–आली हुँदै वडा नम्बर ९ को दुनी दह र छिमेकी चिङ्गाड गाउँपालिकासम्म जोडिने योजना रहेको छ । यो सडकको कुल लम्बाइ २२ किलोमिटर भए पनि चालु आर्थिक वर्षमा २.५ किलोमिटर खण्ड कालोपत्रे गरिने गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिए ।

अध्यक्ष चन्दका अनुसार सडक निर्माण कार्य २०५३/०५४ सालदेखि सुरु भएको र हालसम्म अधिकांश भाग ग्राभेल गरिएको अध्यक्ष चन्दले बताए । बाँकी क्षेत्रमा पनि आगामी वर्षमा स्तरोन्नति र कालोपत्रे गरिने उनको भनाइ छ । इन्द्र विसी द्रुत मार्गको कालोपत्रे काम अंकित एण्ड जेनिसा जलजला गेमी जेभी कम्पनीले लिएको छ ।

दुई वटै सडक यही असारसम्म सम्पन्न गर्नुपर्ने सम्झौता अवधि रहेको कम्पनी सञ्चालक गणेश गुरुङले जानकारी दिए । त्यस्तै, वडा नम्बर १ मा पर्ने सहिद ऋषि चक्रपथ सडकको बेस हाल्ने काम के.वि. गुरुङ कन्ट्रक्सन कम्पनीले गरिरहेको छ ।सिर्जना बजार हुँदै खनेटा जोड्ने चक्रपथको पनि २.५ किलोमिटर सडक यस वर्ष कालोपत्रे गर्ने योजना पालिकाको छ ।

यी दुई सडकको कालोपत्रे कार्य सिम्ता गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमको साझेदारीमा सम्पन्न हुँदैछ । इन्द्र विसी द्रुत मार्गको लागि ४ करोड १५ लाख र ऋषि चक्रपथ सडकको लागि ४ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ । अध्यक्ष चन्दका अनुसार यी सडकलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार