२०८३ वैशाख ३ , बिहीबार
मिडियाको आडमा अपराध

पत्रकारको आवरणमा नक्कली नोट र अफिमको कारोबार, पाँच जना पक्राउ

१३ लाख नक्कली रुपैयाँ र ३० किलो अफिम बरामद


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली रुपैयाँ र साढे ३० किलो अफिम बरामद गरेको छ । सुर्खेत प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै उक्त कार्यमा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । नक्कली रुपैयाँ र अफिम कारोबार संलग्नमा रहेका जाजरकोटका ४ जना र कालिकोटका १ गरी पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।

यस्तै, अर्का पक्राउ पर्नेमा कालीकोटको नरहरिनाथ गाउँपालिका घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका–४ तथा नगरपालिका वडा नं ११. न्युरोडमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया सञ्चालन गरी बस्ने अन्दाजी ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन् ।

यस्तो छ घटनाको नालीबेली
सोमवार दिउँसो सुर्खेत प्रहरीको कन्ट्रोल नम्बरमा एउटा फोन आयो । फोनमा एक जना वीरेन्द्रनगरका पसलले अपरिचित मान्छेले नक्कली नोट आफूलाई दिएको जानकारी दिए । सोही सूचनालाई पछाउँदै प्रहरी नक्कली नोटको कारोबार भइरहेको ठाउँमा पुग्यो । सोमबार दिउँसो करिब १ः३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलमा सो कारोबार भएको प्रहरीले पत्ता लगायो ।

त्यहाँ कुशे घर भई डेरामा बस्दै आएकी दिलमायाले सो कारोबार गरिरहेको खुल्यो ।
उनलाई प्रहरीले नक्कली नोटसहित एकाएक पक्राउ गर्न सफल भयो । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ १ हजार दरका ६ थान नोट, अर्थात् ६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गर्‍यो । सोही दिन साँझ करिब ६ बजे दिलमायासँग सम्बन्धित थप अनुसन्धानको क्रममा प्रहरी टोलीले कुशे खुर्पामा बस्ने ३३ वर्षीय राम बहादुर र दिलमायाको डेराबाट लुकाई राखिएको अवस्थामा नेपाली रुपैयाँ १ हजार दरका १२ सय ३६ थान नक्कली नोट (जम्मा १२ लाख ३६ हजार) बरामद गरेको थियो ।

त्यसपछि घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास गर्दै जाँदा प्रहरी वीरेन्द्रनगर छोडेर सुर्खेतको भेरीगंगामा प्रवेश गर्‍यो । भेरीगंगा नगरपालिका ठकुरी टोलमा डेरा गरी बस्दै आएका कृष्ण बहादुर र प्रेम बहादुरलाई पनि पक्राउ गर्‍यो । उनीहरूको डेरामा खानतलासी गर्दा कालो झोलाभित्र लुकाइएको अवस्थामा अफिम जस्तो देखिने ११ किलो ३७२ ग्राम गिलो पदार्थ बरामद भएको थियो ।

मिडिया हाउसमै नोट छाप्ने कारखाना
‎यही गिरोहको अनुसन्धान गर्ने क्रममा प्रहरी टोली बाँकेको कोहलपुरसम्म पुग्यो ।‎ साथै प्रहरीले नक्कली नोट र अफिमको बारेमा थप अनुसन्धान गर्दै जाँदा मङ्गलवार बिहान साढे ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने, नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य गर्ने कालीकोटको नरहरिनाथ गाउँपालिका घर भएका मनबहादुर सहकारीलाई पक्राउ गर्‍यो ।

उनी कोहलपुर उपमहानगरपालिका–११ न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बसेका थिए । अन्दाजी ३४ वर्षीय सहकारीको मिडिया हाउस तथा उनी बस्ने घर कोठा खानतलासी गर्दा सहकारीको साथबाट एक हजार दरका नक्कली नोटहरू ५१ थान गरेर ५१ हजार, प्लास्टिकमा पोका बनाई राखेका ५ पोकामा १९ किलोग्राम लागू औषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेका थियो ।

साथै सहकारीबाट नक्कली नोट बनाउने क्यानोन प्रिन्टर, एचआईटीसीएच लेखिएको सिपियु, जेलिन टीईसी लेखिएको मनिटर, कार्डडिटर र चिप्स मेमोरी, माउस, किबोर्ड, क्यानोन क्यामेरा एक/एक थान बरामद गरेको छ । एसपी शाहीका अनुसार एक गोप्य सूचनाको आधारमा प्रहरीले यो ठुलो सञ्जाल तोड्न सफल भएको हो ।

शाहीले भने, ’यो एक सङ्गठित अपराधको सञ्जाल हो । हामीले यसको गहिराइसम्म पुगेर अनुसन्धान गरिरहेका छौँ । मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो ।’ ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागु औषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । पत्रकार भन्ने ‎सहकारी यसअघि पनि विभिन्न अपराध अनुसन्धानमा संलग्न रहेको पाइएको छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार