
फाइल तस्बिर
सुर्खेत । सोमबार सुर्खेतका २२ वर्षीय एक युवकले आफूलाई हनी ट्र्यापमा पारेको र ठुलाे रकम असुलेको भन्दै सुर्खेत प्रहरीमा पुगे । उनले एक महिलाले हनी ट्र्यापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको र उनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीमा निवेदन दिए । उनी त्यहाँ मोबाइल बैङ्किङ मार्फत गरेको कारोबार(स्टेटमेन्ट) सहित प्रहरीमा गएका थिए । प्रहरीले उनको निवेदन र बैङ्किङ कारोबार गरेको सबै प्रमाण हेरेर ती महिलाको अनुसन्धानमा लाग्यो ।
अन्ततः निवेदन दिएको भोलिपल्ट अर्थात् मङ्गलवार दैलेखको नौमुले गाउँपालिका–८ घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया सिन्दु चन्दलाई पक्राउ ग¥यो । प्रहरी उच्च स्रोतका अनुसार ती युवक सन् २०२४ को जुलाई (२०८१ साल साउन) मा कोरियाबाट नेपाल फर्केका हुन् । नेपाल फर्केपछि उनीहरूबिच पहिलो पटक वीरेन्द्रनगरस्थित बुलबुले भ्यु होटेलमा भेट भएको प्रहरी स्रोतको दाबी छ ।
‘सुरुमा सिन्दुले नै युवकलाई होटेलमा बोलाएर भेट गरिन्,’ स्रोतले भन्यो, ‘प्रारम्भमा सामान्य रूपमा सुरु भएको सम्बन्ध पछि गहिरिँदै गयो र उनीहरूबिच शारीरिक सम्बन्ध पनि भयो ।’ पहिलो चरणमा महिला पक्षबाट कुनै आर्थिक माग गरिएन । तर, केही समयपछि ती महिलाले युवकका गोप्य तस्बिर देखाएर धम्क्याउन थालिन् । स्रोतका अनुसार ती महिलाले युवकलाई ‘यदि पैसा दिएनौ भने तिम्रो तस्बिर सामाजिक सञ्जाल र परिवारमा पठाइदिन्छु’ भन्ने धम्की दिँदै रकम असुल्न थालिन् ।
सुरुमा दुई–तीन लाख रुपैयाँको डिल गरेकी सिन्दुले बिस्तारै रकमको मात्रा बढाउँदै लगिन् । विभिन्न चरणमा युवकले बैङ्किङ माध्यम र नगदमार्फत गरी झन्डै १४ लाख रुपैयाँ बुझाएको खुलेको छ । यो प्रक्रिया लगभग डेढ वर्षसम्म चलिरह्यो। युवकले पटक पटक रकम बुझाइरहेका थिए । तर महिलाले धम्की दिन छोडिनन् । युवकमाथि मानसिक तनाव अत्यधिक बढ्न थाल्यो । डर, त्रास र सामाजिक बेइज्जतीको चिन्ताले गर्दा उनले यसअघि प्रहरीमा उजुरी गर्न सकेका थिएनन् । अन्ततः पीडा सहन नसकेर सोमबार उनी जिल्ला प्रहरी कार्यालय पुगे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार युवकले दिइएको बयान, स्टेटमेन्ट र प्रमाणका आधारमा अनुसन्धान गर्दा महिलाले ब्ल्याकमेलिङ मार्फत रकम असुलेको पुष्टि भएको हो । ‘महिलाले कमजोरीको फाइदा उठाउँदै पैसा उठाउने काम गरेकी थिइन्,’ एसपी शाहीले भने, ‘उनीमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’
महिलाले प्रारम्भिक बयानमा युवकबाट पैसा लिएको स्वीकार गरिसकेकी छिन् ।प्रहरीका अनुसार उनले नगद र बैङ्किङ दुवै माध्यमबाट रकम लिएको स्वीकारेकी छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । पीडित युवक विवाहित हुन् भने पक्राउ परेकी महिला अविवाहित हुन् । सामाजिक बेइज्जतीको डर, पारिवारिक जिम्मेवारी र मानसिक तनावका कारण युवक लामो समयसम्म मौन बसेको देखिएको छ ।