
सुर्खेत । रूकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा सवारीसहित खसेका तीनजना अझै बेपत्ता रहेका छन्। खोजी कार्य जारी भए पनि नदीको उच्च बहावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। साउन ६ गते बेलुकी करिब पौने ८ बजेतिर जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट आठबीसकोटका छेपारेतर्फ जाँदै गरेको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको थियो।
टिपरमा सवार तीनै जना हालसम्म फेला परेका छैनन्। बेपत्ताहरूमा दाङका चालक मनिराम चौधरी, रूकुम पश्चिम सानिभेरी गाउँपालिका–३ का धनविर बराइली र रूकुम पूर्व सिस्ने गाउँपालिका–८ स्यालापाखाका हरि विक रहेका छन्। रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रमेश विष्टका अनुसार टिपर खसेको खबर पाएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो।
जाजरकोट र रूकुम पश्चिम दुवै जिल्लाबाट संयुक्त टोली परिचालन गरिएको भएपनि हालसम्म उनीहरु फेला नपरेकाे डिएसपी विष्टले जानकारी दिए। उनकाअनुसार टिपर भने दुर्घटनास्थलभन्दा करिब ५०० मिटर तल फेला परेको थियाे ।
घटनास्थलको भौगोलिक अप्ठ्यारोपन र नदीको तीव्र बहावले खोजी कार्यमा थप समस्या भएको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले बताए । प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको जनाएको छ।