२०८३ वैशाख २ , बुधबार
ट्राफिक प्रहरी कार्यालय सुर्खेतको वार्षिक उपलब्धि

एक करोड ४५ लाख राजस्व संकलन, २ हजार बढी सचेतनामुलक कार्यक्रम



सुर्खेत । आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार १ सय ५१ सवारी साधनलाई कारबाही गरी १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ८४२ सवारीसाधनलाई कारबाही गरी १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो।

कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले राजस्व वृद्धि भएको हो। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा धेरै ६ हजार ७५० वटा मोटरसाइकल रहेका छन्। अन्य कारबाहीमा परेका सवारीसाधनहरूमा जिप, कार, भ्यान ३ हजार ७२, ट्रक–टिपर २ हजार ८६१, अटो टेम्पो २ हजार २५, बस तथा मिनी बस १ हजार ६१४ र ट्याक्टर ८२९ रहेकाे उनले बताए ।

उनकाअनुसार संकलित राजस्वमा मोटरसाइकलबाट ५४ लाख २६ हजार, जिप,कार,भ्यानबाट २३ लाख ४६ हजार ५००, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार ५००, बस,मिनी बसबाट १४ लाख ४४ हजार ५०० र ट्याक्टरबाट ६ लाख १३ हजार ५०० रुपैयाँ संकलन गरिएको छ। उक्त वर्षमा सुर्खेतमा ४२३ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाको मृत्यु भएको छ।

मृतकमध्ये २९ पुरुष (जसमध्ये १२ जना चालक), ६ महिला, १ बालक र ३ बालिका रहेका छन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, क्याम्पस, चालक, सहचालक, पैदल यात्री लगायत लक्षित गरी २ हजार ५३४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। साथै राडर गनमार्फत गति नियन्त्रण, मादक पदार्थ सेवन चेकजाँचमा कडाइ, ८८६ वटा रोड फर्निचर, जानकारीमूलक बोर्डहरू जडान तथा २०६ वटा अतिरिक्त सिट हटाउने, ८४ वटा मोडिफाइड सवारी नियन्त्रण गर्ने कार्यहरू गरिएको छ।

प्रविधिमैत्री ट्राफिक प्रशासन विकासका लागि ई–चलान प्रणाली, अनलाइन सचेतना कार्यक्रम, ट्राफिक लाइट जडान लगायतका कार्यहरू समेत अगाडि बढाइएको कार्यालयले जनाएको छ। यसरी, ट्राफिक नियम कार्यान्वयन, प्रविधिको प्रयोग र जनचेतनामार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा दुबै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार