२०८३ वैशाख २ , बुधबार

 वीरेन्द्रनगरमा सात दिने विपद् स्वयंसेवक तालिम सम्पन्न



सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा सात दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, एनसेट, सुन्दर नेपाल संस्था, युएन वुमन र हेन्डी क्याप इन्टरनेशनलको समन्वयमा तालिम बिहीवार सम्पन्न भएकाे हाे ।

तालिममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरी तथा डुवान र बाढी प्रभावित समुदायबाट २५ जना स्वयंसेवक सहभागी भएका थिए। नेपालमा हरेक वर्ष प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। शहरी क्षेत्रदेखि गाउँबस्तीहरूसम्म यसले प्रभाव पार्ने गरेकाले विपद् जोखिम न्युनिकरणमा स्थानीय तह र साझेदार संस्थाहरूको भूमिका महत्वपूर्ण हुने जनाउँदै तालिम सञ्चालन गरिएको हो ।

तालिममा विपद् सम्बन्धी परिभाषा, नेपालमा बनेका नीति नियम, पूर्व सूचना प्रणाली, पूर्वानुमानमा आधारित कार्य, प्राथमिक उपचार, खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीप प्रदान गरिएको थियो । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईको संयोजकत्वमा सञ्चालन भएको तालिममा एनसेटबाट आएका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।

तालिम राष्ट्रिय प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गरिएको थियो । जसमा देशका ७५३ वटै स्थानीय तहलाई बहुप्रकोपबाट सुरक्षित बनाउन र आपतकालीन प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउनु रहेको वीरेन्द्रनगर नगरपालिकाका आपतकालीन कार्यसञ्चालन केन्द्रका अधिकृत यामलाल गिरीले जानकारी दिए ।

तालिम समापनमा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख निलकण्ठ खनालले आपतकालीन अवस्था र विनाशकारी विपत्तिमा प्रतिकार्यका लागि दक्ष टोली निर्माण गर्न जोखिमयुक्त क्षेत्रका युवालाई तालिम प्रदान गरिएको जानकारी दिए । तालिममा सक्रियतापूर्वक सहभागिता जनाएका स्वयंसेवकहरूलाई नगरप्रमुख खनाल र वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक खिमलाल देवकोटाले संयुक्त रूपमा प्रमाणपत्र वितरण गर्दै तालिमा सिकाइएको ज्ञान व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति विनोद बानिया, युएनडिपी सुपर परियोजनाका कर्णाली प्रदेश संयोजक कृष्ण चापागाई, सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार