२०८२ फागुन १ , शुक्रबार

सुर्खेतमा पूर्व सैनिकले गरे श्रीमतीको हत्या, पक्राउ गर्न आफैंले बोलाए प्रहरी



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीया रविना थापामाथि घरेलु हतियार चिर्पटले प्रहार गरी हत्या गरेका हुन् ।

हत्या गरेलगत्तै ठाडाले आफैंले प्रहरीलाई फोन गरेर श्रीमतीको हत्या गरेको स्वीकार गर्दै पक्राउ गर्न आउन अनुरोध गरेका थिए । ‘सर, श्रीमती मारिसकेँ, पक्राउ गर्न आउनुहोस्,’ भन्दै उनले प्रहरीलाई घरको ठेगाना समेत दिएका थिए ।

प्रहरीलाई फोन गर्नुअघि उनले वडा अध्यक्षलाई फोन गरेर प्रहरीको सम्पर्क नम्बर मागेको थिए । घटनाको जानकारी पाएलगत्तै नगर प्रहरी र करेखोला प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीले जानकारी दिए।

उनका अनुसार ठाडालाई बिहान २ बजेतिर नियन्त्रणमा लिइएको छ । ठाडाले श्रीमतीको टाउको र छातीमा चिर्पट प्रहार गरी हत्या गरेका प्रहरी स्रोतले जानकारी दिए । यसअघि पनि उनले श्रीमतीलाई ज्यान मार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ठाडा नेपाल आर्मीबाट अवकाशप्राप्त (रिटायर्ड) हुन् ।घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान जारी राखेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार