२०८२ फागुन १ , शुक्रबार
परम्परागत जीवनशैलीमा परिवर्तन

रुख मास्दै हिँड्ने राउटेले गरे लेकवेशीमा वृक्षारोपण



सुर्खेत । जंगलमै बसोबास गर्दै परम्परागत जीवनशैली अपनाउँदै आएका राउटे पछिल्लो समय समयानुकूल परिवर्तन हुँदै गएका छन् । आहारमा कमी, जंगलमा काठको अभाव र बाह्य समाजसँगको घुलमिलले उनीहरूलाई परम्परागत जीवनशैली परित्याग गर्न बाध्य बनाएको छ ।

आइतवार पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–९ स्थित खाँडदेवी सामुदायिक वन क्षेत्रको ओखलढुङ्गा चौरमा लोपोन्मुख राउटे समुदायले दुई सयभन्दा धेरै बिरुवाहरू रोपेका छन् ।  डिभिजन वन कार्यालय सुर्खेतको सहकार्यमा खाँडदेवी वन उपभोक्ता समूहले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनीहरुले खयर, सिसौं, चिउरी, हर्रो, बर्रो, अमला लगायत बहुवर्षीय काष्ठ तथा जडीबुटीजन्य विरुवा रोपेकाे हुन्  ।

डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठका अनुसार असार १५ गतेदेखि  सञ्चालन भएको एक महिने सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत सुर्खेतमा हालसम्म १६ हजार भन्दा बढी विरुवा सार्वजनिक, धार्मिक र सडक किनाराका क्षेत्रमा रोपिएको हाे ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले राउटे समुदायलाई वृक्षारोपणमा संलग्न गराइनुले वातावरणीय सन्तुलन कायम गर्न तथा सामुदायिक चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने बताए । उनले भने, ‘आज राउले समुदायले विरुवा रोपन गर्नुभयो,’ उनले भने, ‘राउटे अब रुख काट्ने मात्र होइन, रोप्ने अभियानमा पनि लागेका देख्दा खुसी लाग्यो ।,’

लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेशकुमार पौडेलले हरियाली कायम गर्न र तापक्रम नियन्त्रणमा ल्याउन वृक्षारोपण अत्यावश्यक भएको बताए । कर्णाली प्रदेश सरकारले सात वर्षअघि नै कर्णालीका डिभिजन वन कार्यालयलाई पत्राचार गरेर सामुदायिक वनको विधान र कार्य योजना नवीकरण गर्दा तथा नयाँ सामुदायिक वन हस्तान्तरण गर्दा राउटे समुदायलाई अनिवार्य रूपमा उपभोक्ताका रूपमा समावेश गर्न पत्राचार गरेको थियो।

प्रदेश सरकारको निर्देशन कार्यान्वयन नहुँदा समुदाय र राउटे समुदायबिच रुख काट्ने विषयमा बेलाबेलामा विवाद हुने गरेको छ।  नगर प्रमुख पौडेलले वृक्षारोपणपछि संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीयको भूमिका अझै महत्वपूर्ण हुने उल्लेख गरे । वृक्षारोपण कार्यक्रममा उपप्रमुख विमला खड्लुक, प्रदेश वन निर्देशनालयका निर्देशक गणेश त्रिपाठी, जैविक विविधता महाशाखा प्रमुख दीपेश केसी, सामुदायिक वन प्रतिनिधि तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार