
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीहरूलाई पुरानो कार्यशैली त्यागेर जनताको सेवकका रूपमा दिएका छन् । उनले कर्मचारीतन्त्रमा अझै पनि परम्परागत शैली हाबी रहेको भन्दै त्यसलाई सुधार्न नसके चाहेजस्तो नतिजा प्राप्त नहुने बताए । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै कँडेलले मन्त्रालय सेवाग्राहीलाई दुःख दिने नभई सहजीकरण गर्ने थलो भएको स्पष्ट पारे ।
’मन्त्रालय कसैलाई दुःख दिने अड्डा होइन, सेवाग्राहीलाई सहजीकरण गर्ने थलो हो भन्नेमा कर्मचारी साथीहरू स्पष्ट हुनुपर्छ,’ उनले भने । मुख्यमन्त्री कँडेलले नीतिगत विषयमा मन्त्रीले सहजीकरण गरे पनि सेवाग्राहीसँग जोडिएका दैनिक काम कर्मचारीबाटै सम्पादन हुने भएकाले गुनासोरहित सेवा प्रदान गर्न कर्मचारी नै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
‘यहाँको जिम्मेवारी सम्हालेपछि म पनि सेवक हुँ, शासक होइन भन्ने हेक्का राखेको छु, तपाईँहरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछु,’ उनले भने । नागरिकले सरकारी निकायबाट नयाँ ढङ्गले काम खोजिरहेको बताउँदै उनले अब पद र ओहोदाले नभई कार्यसम्पादन र नैतिकताले नेतृत्व गर्न सकिने बताए । उनले थप भने, ’मन्त्री र सचिव पद मात्र हुन्, कार्यसम्पादन र नैतिकता भएन भने पदले मात्र हुँदैन ।’
केही कर्मचारीले जिम्मेवारी पन्छाउने गरेको सुनेको बताउँदै उनले नियम, कानुनले मिल्ने काम पनि पन्छाउने कर्मचारीलाई आफ्नो कार्यसम्पादनबारे पुनरावलोकन गर्न निर्देशन दिए । ‘तपाईँहरूलाई सेवाग्राहीका कामलाई नियमसंगत तरिकाले सम्पादन गर्न खटाइएको हो, काम रोक्न होइन,’ उनले भने, ’काम गर्न सक्नुहुन्न भने आफ्नो भूमिकाबारे अहिले नै सोच्नुहोस्, काम अल्मल्याएर सेवाग्राहीलाई दुःख दिन पाउनुहुन्न ।’
कार्यक्रममा मन्त्रालयका सचिव डा। पुष्पराज शाहीले यस वर्ष नागरिक घर बिमा, पत्रकार स्वास्थ्य बीमा, विपद् पीडितलाई राहत जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। कानुन मन्त्रालयको कूल प्रगति ७१ प्रतिशत रहेको छ ।