२०८२ फागुन १ , शुक्रबार

भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन जिल्ला प्रशासन जाजरकोटको आग्रह



जाजरकोट । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठूलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ ।

मंगलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो । ‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’ सूचनामा भनिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांक अनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । यसकारण घर नजिकै नदी किनारमा गतिविधि नगर्न, गाईबस्तु चराउन नदी किनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ ।

जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको अधिकारी मंग्रातीले बताए । भेरी नदीको आसपासमा रहेका बस्तीहरू र भेरी करिडोर क्षेत्रमा प्रहरी मार्फत सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएको उनको भनाइ छ । प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न समेत अनुरोध गरेको छ ।

साथै, उद्धार तथा राहतका लागि आवश्यक तयारीहरू मिलाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । नदी आसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्हतीहरूमा सतर्कता बढाइएको उनको भनाइ छ । अवस्था थप जटिल भएमा सूचना प्रणालीमार्फत थप जानकारी दिइने उहाँले बताए ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार