सुर्खेत । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका–१० बस्ने काठमाडौँ महानगरपालिका–३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौँ महानगरपालिका–१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रदीप हमाल र काठमाडौँ महानगरपालिका–३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् ।
प्रहरीका अनुसार अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितसँग २७ लाख २९ हजार रुपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितसँग ३६ लाख ६३ हजार रुपैयाँ, प्रदीपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितसँग ६ लाख २० हजार रुपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितसँग १ लाख ४० हजार रुपैयाँ असुली सम्पर्कविहीन बनेका थिए ।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले अक्षयलाई काठमाडौँ महानगरपालिका–१३ बाट बुधबार, सुसानलाई काठमाडौँ महानगरपालिका–३२ बाट, प्रदीपलाई महानगरपालिका–२६ बाट र मञ्जुलाई महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अक्षयलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र सुसान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।