२०८३ वैशाख ४ , शुक्रबार

केन्द्रीय पदाधिकारीमा कर्णालीलाई विधानमै सुनिश्चित गर्न माग



सुर्खेत । कर्णाली प्रदेशका नेताहरूले पार्टीको पदाधिकारीमा कर्णालीको सुनिश्चितताका लागि विधानमै व्यवस्था गर्न माग गरेका छन् । कर्णाली प्रदेश प्रदेश राजधानी सुर्खेतमा जारी छैटौँ प्रदेश कमिटीको बैठकमा पार्टी विधान माथिको छलफलमा बोल्दै अधिकांश नेताहरूले केन्द्रीय पदाधिकारीमा कर्णालीको उपस्थिति अनिवार्य रूपमा हुने व्यवस्था सहितको विधान संशोधन गर्न माग गरेका हुन् ।

बैठकमा पार्टी केन्द्रका तर्फबाट प्रदेश इन्चार्ज गोरख बोगटीले पेस गरेको विधान संशोधनको प्रस्तावमा आफ्ना धारणा राख्दै प्रदेश कमिटी सदस्य पार्वती चालिसेले अहिलेसम्म पार्टीको केन्द्रीय पदाधिकारीमा कर्णाली कहिल्यै नपरेको उल्लेख गर्दै आसन्न विधान महाधिवेशनबाट पारित हुने विधानमा सबै प्रदेशबाट पदाधिकारीको सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

विधान माथिको प्रस्तावमाथि आफ्नो भनाई राख्दै प्रदेश कमिटी सदस्य नवराज महताराले देशको ठुलो हिस्सा ओगटेको कर्णालीमा केन्द्रीय पदाधिकारी नहुनु दु:खत् भएको उल्लेख गर्दै विधानको धारा १६ को (२) लाई संशोधन गर्दै सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी सात सचिव गर्ने र तिनै सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिन माग गरे ।

एमाले कर्णाली प्रदेश पार्टी कार्यालयमा जारी बैठकमा विधानमाथिको छलफलमा आफ्ना धारणा राख्दै युशिल थापाले हरेक कमिटीमा कम्तीमा ५० प्रतिनिधि ४० वर्ष मुनिका युवाहरूलाई निर्वाचित हुने व्यवस्था विधानमै गर्नुपर्ने माग गरे । बैठकमा प्रदेश कमिटी सदस्य धुर्ब शाही, कमल शाही, कलबहादुर हमाल लगायतका नेताहरूले कर्णालीलाई पदाधिकारीमा समेट्न अनिवार्य वैधानिक व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

बैठकमा धारणा राख्ने पवित्रा शाही, पार्वती विशुखेंले महिलाको प्रतिनिधित्वलाई पदाधिकारीमा समेत व्यवस्था गर्नुपर्ने माग गर्नु भएको छ । बैठकमा प्रदेश कमिटी सदस्यहरूले धारणा राख्ने क्रममा दुई दर्जन बढी नेताहरूले विधान संशोधनमा आफ्ना धारणा राखेकाे कर्णाली प्रदेश उपसचिव पद्मा खट्काले जानकारी दिए ।

एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, पार्टी स्थायी कमिटी सदस्य तथा एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीको उपस्थितिमा पार्टी कार्यालयमा सुरु भएको छ ।

पार्टीको आसन्न विधान महाधिवेशनका लागि नवौँ केन्द्रीय कमिटीले मातहतका कमिटीमा छलफलका लागि पठाएको विधान संशोधन प्रस्तावमाथिको छलफल, पार्टी सदस्यता नवीकरण, नियमित साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा बैठकमा छलफल गरिने बैठकमा प्रदेश कमिटी सदस्य, दश वटै जिल्लाका अध्यक्ष, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजबहादुर बुढा, दल रावल, मोहनमाया ढकाल, दक्षिणा शाही लगायतका नेताहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार