काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार सार्वजनिक गरेको छ। यस वर्ष कसैले पनि चार जीपीए ल्याउन नसकेको बोर्डले जानकारी दिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटकको परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए।
तीमध्ये २ लाख ८४ हजार ३०५ जना अर्थात् ५५.६६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। नियमिततर्फको नतिजा हेर्दा, ३ लाख ९६ हजार ३४७ जना सहभागीमध्ये ६१.१९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ जना विद्यार्थी पास भएका छन्। परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कसैले पनि जीपीए ४ ल्याउन नसकेको जानकारी दिए ।
‘सबैभन्दा बढी ल्याउने विद्यार्थीको जीपीए ३.९६ मात्रै हो,’ शर्माले भने ‘त्यो पनि धेरै जनाको छैन।,’ गत वर्षको एसईई परीक्षामा भने ७७४ जना विद्यार्थीले जीपीए ४ ल्याएका थिए। परीक्षामा आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए।
तीमध्ये ३६.१४ प्रतिशत अर्थात् ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार देखिएको छ। अघिल्लो वर्ष ५२.९१ प्रतिशत विद्यार्थी पास भएका थिए भने यस वर्ष ६१.१७ प्रतिशत उत्तीर्ण भएको बोर्डको दाबी छ।
यस्ताे छ, जीपीएको वर्गीकरण
- ३.६ देखि माथि: १३ हजार ५०२ विद्यार्थी
- ३.२ देखि ३.६: ५५ हजार ८९६ विद्यार्थी
- २.८ देखि ३.२: ९४ हजार २६८ विद्यार्थी (अधिकांश)
- २.४ देखि २.८: ६९ हजार ८१२ विद्यार्थी
- २.१ देखि २.४: ८ हजार ९६४ विद्यार्थी
- १.६ देखि २.०: २३ विद्यार्थी