२०८३ वैशाख ४ , शुक्रबार

शिवालयमा पहिलो पटक मोसो बाँस खेती सुरू



रोप्नका लागि तयारी अवस्थामा राखिएका मोसो बाँसका विरुवा

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा पहिलोपटक मोसो बाँस रोप्न थालिएको छ । सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले करिब १ हजार १ सय मोसो बाँसका विरुवा पालिकाका ९ वटै वडाका उच्च भूभागमा रोप्न थालिएको हो । बनेपाबाट करिब करिब २ लाख रुपैयाँमा खरिद गरिएका बाँसका विरुवाहरु वडा र वडाका वन समुहलाई वितरण गरेर उच्च ठाउँमा रोप्न लगाउने शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीका अनुसार मोसो बाँस करिब १२ सय मिटर भन्दा माथिको क्षेत्रमा राम्रोसँग उब्जिने गर्दछ । मोसो बाँस हेर्दा अग्लो, घना, बलिया हाँगाहरू हुने र पात नझर्ने किसिमको हुने हुँदा यसले भूस्खलन रोक्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनकाे भनाइ छ । यो प्रजातिको झ्याङ हुँदैन र यसको काठ जस्तै कडा, बलिया हाँगा र चक्रिय फूल फूल्ने विशेषता हुन्छ,’ अध्यक्ष शाहीले भने, ‘विशेषगरी पहाडी भूभागमा हरेक वर्ष हुने भूस्खलन र जमिन कटान जस्ता समस्या न्यूनीकरणमा यो प्रभावकारी हुन्छ ।’

उनले यसबाट कपडा, कागज, हस्तकलाका सामग्री लगायत विभिन्न व्यावसायिक उत्पादन तयार गर्न सकिने भएकाले रैथाने बाँसको तुलनामा बढी फाइदा लिन सकिने बताए । अध्यक्ष शाहीले प्रतिबिरुवा २०० को दरले बनेपादेखि खरिद गरी ल्याइएको र यो बाँस पूर्णरूपमा हुर्किँदा सुन्दर देखिने भएकोले पर्यटकहरूको आकर्षण हुने समेत उनले बताए । खानको लागि स्वादिलो र पोषणयुक्त टुसाहरु उपलब्ध हुने उच्चकोटीको धागोबाट अन्तराष्ट्रिय स्तरको कपडा तयार गर्न सकिने भएकोले यो बाँस खरिद गरेर पालिकामा ल्याइएको उनकाे दाबी छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार