२०८३ वैशाख ४ , शुक्रबार

शिवालय गाउँपालिकाद्वारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता



सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाइनमा बसेका लाभग्राहीहरू

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाले सेवाग्राहीलाई सहज बनाउन सामाजिक सुरक्षा भत्ता वितरण सेवा घरदैलोमै पु-याएको छ। गाउँपालिकाले नीतिगत निर्णयअनुसार हिमालयन बैंक लिमिटेडसँगको समन्वयमा बैंकका कर्मचारीहरूलाई वडास्तर र बस्तीस्तरसम्म खटाएर भत्ता वितरण गरेको हो।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका अनुसार बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूलाई अझ सहज बनाउने उद्देश्यले वडामा खटिएर वितरण गरिएको हो। उनका अनुसार शिवालयका ९ वटै वडामा पुगेर करिब २ हजारभन्दा बढीलाई भत्ता वितरण गरिएको छ। लाभग्राहीमध्ये धेरैजसो ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्ति छन्।

वडाबाट घण्टौं पैदल हिँडेर बैंकमा पुग्नुपर्ने बाध्यता हटाउन गाउँपालिकाले गाउँमै पुगी भत्ता वितरण गरेकाे प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले बताए। उनका अनुसार बर्खायाममा यातायातको सुविधा अभाव हुँदा अझ कठिन हुने भएकाले गाउँगाउँमै पुगेर भत्ता वितरण गरिएको हो।

जनप्रतिनिधि, पालिकाका कर्मचारी र बैंकका प्रतिनिधिको सहभागितामा नगद भत्ता वितरण गरिएको हिमालय बैँक शिवालय शाखाका शाखा प्रवन्धक सन्दिप हमालले जानकारी दिए। उनले शनिवारसमेत वडामा गएर भत्ता वितरण गरेकाे बताए । उनकाअनुसार गाउँपालिकाको समन्वयमा सबै वडामा पुगेर दुई हजारभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता सफलतापूर्वक वितरण गरिएको हो।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार