
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ नयाँ बजारस्थित एक घरबाट सुनका गरगहना र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बुधवार बिहान साढे ११ बजेतिर कल्पना मल्लको घरबाट २.५ तोलाको सुनको सिक्री, भारतिय मंगलसूत्र, बेरुवा औँठी, काँक्रेविहार औँठी, झाला र क्लिप, ब्रासलेट र नगद ५० हजार रुपैयाँ चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिसी क्यामेरा फुटेज तथा प्रविधिको सहयोगमा सूक्ष्म अनुसन्धान गर्दा चोरीमा संलग्न व्यक्ति वीरेन्द्रनगर नगरपालिका–६ शान्तिटोल निवासी १८ वर्षीय अर्जुन गहतराज रहेको खुल्न आएको हो ।गहतराजले घरमा कोही नभएको मौका छोपी चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गहतराजको साथबाट चोरी गरिएको सुनको ब्रासलेट, लेडिज औँठी, बेरुवा औँठी र सिक्री फेला पारिएको छ । उनलाई नियन्त्रणमा लिई चोरीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।