२०८३ वैशाख ४ , शुक्रबार

उत्तरकाशीमा भीषण बाढीका कारण कुशेका १३ जना सम्पर्कविहीन



सुर्खेत । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मङ्गलवार भएको भीषण ’क्लाउड ब्रस्ट’ (बादल फुटेर भएको अत्यधिक वर्षा) का कारण जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना स्थानीय सम्पर्कविहीन भएका छन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै वडा नम्बर–२ का १३ जना भन्दा बढी व्यक्तिहरू सम्पर्कविहीन भएको जानकारी दिएको छ ।

अन्य वडाका केही स्थानीयहरू पनि सम्पर्कमा नरहेको जनाइएको छ । सामाजिक सञ्जालमार्फत प्राप्त सूचनाका आधारमा उनीहरू हराएको आशङ्का गरिएको गाउँपालिकाले जनाएको छ । वडा नं. २ का वडाध्यक्ष मानबहादुर सिंहले पनि आफ्नो वडाका १३ जना भन्दा बढी मानिस सम्पर्कविहीन भएको पुष्टि गरेका छन् ।

उनका अनुसार भारतमै रहेका २१ वर्षीय नवीन सिंह ठकुरीले गाउँमा फोन गरी आफ्नै सामुन्ने ५ जना बाढीमा बगेर बेपत्ता भएको जानकारी गराएका छन् । ‘नवीनले गाउँमा भर्खर फोन गरेर बुवा, आन्टीकाे श्रीमान सहित ५ जना मेरै अगाडिबाट बगेर बेपत्ता हुनुभएको छ, उहाँहरुको निधन समेत भइसकेको जस्तो लागेको छ भनेर भन्नुभयाे ।,’ अध्यक्ष सिंहले भने ।  उनका अनुसार भारत रोजगारीका लागि गएका स्थानीयमध्ये कोही कोही छोराछोरीसहित गएका छन् ।

विपद् प्रभावित नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको भन्दै कुशे गाउँपालिकाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत तत्काल कूटनीतिक पहल गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा आगामी दिनहरूमा पनि बाढी, पहिरो लगायतका प्राकृतिक विपद् आउन सक्ने सम्भावना भएकाले सम्पूर्ण कुशेवासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार