२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली पर्यटन पत्रकार मञ्च गठन, अध्यक्षमा सुशील खड्का



सुर्खेत । पत्रकारिताका माध्यमबाट कर्णालीको पर्यटन सम्भावनाको खोज गरी यसको प्रवर्द्धन, विकास र प्रचार–प्रसारमा टेवा पु¥याउने उद्देश्यले कर्णाली पर्यटन पत्रकार मञ्च स्थापना भएको छ । शनिवार पत्रकार सुशील कुमार खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी कर्णाली पर्यटन पत्रकार मञ्च स्थापना भएको हो ।

धार्मिक तथा ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार परिसरबाट एक कार्यक्रमका बिच मञ्च गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई स्थापना भएको मञ्चको उपाध्यक्षमा सिर्जना बुढाथोकी, महासचिवमा ओमबहादुर शाही, सचिवमा रजनीकुमारी योगी र कोषाध्यक्षमा नवीनकुमार सुवेदी चयन भएका छन् ।

यस्तै, मञ्चको सदस्यमा मिमबहादुर रावल (रमेश), जगतदल जनाला विक, खगेन्द्र शाही र चन्दा कँडेल छन् । कर्णालीको पर्यटन सम्भावनाको खोजी पत्रकारिताका माध्यमबाट पर्यटन प्रवर्द्धनका क्षेत्रमा अध्ययन, अनुसन्धान र अवलोकनमार्फत यसको प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ पर्यटन पत्रकार मञ्च स्थापना गरिएको मञ्चका महासचिव ओमबहादुर शाहीले बताए ।

‘कर्णालीका पर्यटकीय गन्तव्यहरूको पहिचानमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा प्रचार–प्रसार गरी यहाँको पर्यटन विकासमा टेवा पु¥याउनु हाम्रो मुख्य लक्ष्य र उद्देश्य हो,’  उनले भने, ‘पर्यटन प्रवर्द्धनमा पत्रकारको क्षमता विकासमार्फत यहाँको पर्यटन सम्भावनालाई उजार गरी कर्णालीलाई पर्यटकको रोजाइको गन्तव्य निर्माण गर्नु हाम्रो मूल ध्येय हो ।’

उनले कर्णालीको पर्यटन विकासमा विद्यमान नीतिगत सुधारमा समेत पैरवी मञ्चमार्फत गरिने बताए । यस्तै, मञ्चका अध्यक्ष सुशील कुमार खड्काले कर्णालीको गर्भमा रहेका पर्यटकीय क्षेत्रलाई पर्यटन पत्रकारितामार्फत सम्भावना उजागर गर्न कोसिस गरिने बताए । ‘कर्णाली आफैमा प्राकृतिक सुन्दरतासँगै पर्यटनको प्रचुर सम्भावना भएको प्रदेश हो,’ उनले भने, ‘कतिपय स्थानमा पूर्वाधार अभाव छ, प्रचार–प्रसारको अभावमा अधिकांश पर्यटकीय गन्तव्य ओझेलमा छन् ।’

अथाह सम्भावना बोकेको भए पनि ओझेलमा परेका कर्णालीका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गरी नीति निर्मातामाझ पर्यटनमार्फत कर्णालीको समृद्धि सम्भव छ भन्ने तथ्यलाई उजागर गर्न मञ्चको परिकल्पना गरिएको उनले बताए ।  ‘कर्णालीको पर्यटन प्रवर्द्धन र विकासमा पत्रकारको कलममार्फत संसारभर चिनाउने दायित्व बोध हामीले महसुस गरेका छौँ,’ अध्यक्ष खड्काले भने । उनले कर्णालीमा पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवाला निकायसँग सहकार्यमार्फत काम गरिने बताए ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार