
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले कर्णालीको मुक्ति र समृद्धिको नेतृत्व युवाले नै लिनुपर्नेमा जोड दिएका छन्। सोमबार ‘समृद्ध कर्णालीका लागि युवा विषयक बहस’ कार्यक्रममा बोल्दै उनले कर्णालीको ऐतिहासिक उपेक्षा, वर्तमान राजनीतिक अस्थिरता र विकासको सुस्त गतिप्रति कडा आलोचना गर्दै अबको नेतृत्वको जिम्मा सचेत र देशभक्त युवाले सम्हाल्नुपर्ने बताए।
कार्यक्रमको सुरुमा हमालले २०७२ सालको कर्णाली आन्दोलनमा प्राण गुमाएका यमबहादुर बिसी, गोपालसिं रजवार, टीकाराम गौतम र हरिबहादुर कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्दै, “कर्णालीको अस्तित्व कुनै व्यक्तिको कृपाबाट होइन, बलिदान, पसिना र आमाको आँसुबाट जन्मिएको हो,” भने। उनले सहिदहरूको बलिदानलाई आफ्नो राजनीतिक–संगठनात्मक प्रतिवद्धताको आधारका रूपमा प्रस्तुत गर्दै, “प्रचारको पर्दा च्यातेर इतिहासको साँचो अर्थ बुझौँ, र भविष्यलाई स्वार्थको बेडीमा बाँध्न खोज्नेहरूलाई रोकी हालौँ,” भन्दै युवालाई सशक्त राजनीतिक हस्तक्षेपको आह्वान गरे।
अस्थिरता र ‘अपहरित प्रजातन्त्र’को आलोचना
हमालले सात वर्षमा चार मुख्यमन्त्री, ४१ मन्त्री र दर्जनौँ सचिव फेरबदल भएको उदाहरण दिँदै यसलाई कर्णालीको विकास अवरुद्ध गर्ने ‘अत्यन्त खतरनाक राजनीतिक खेल’ भने। उनले मुख्यमन्त्री र मन्त्री बन्ने कुरा ‘बालकोट र बुढानीलकण्ठका अध्यारो कोठाभित्र’ टुंगो लगाइने प्रचलनप्रति आपत्ति जनाउँदै यसलाई ‘अपहरित प्रजातन्त्र’को संज्ञा दिए। “हाम्रो निर्णय क्षमता बाहिरबाट निर्देशित हुँदाखेरी कर्णालीको छुट्टै अस्तित्व के रह्योरु” उनले प्रश्न गरे।
तथ्याङ्कसहितको यथार्थ र विकासको विफलता
हमालले बेरोजगारी दर ३२ प्रतिशतभन्दा माथि रहेको, वार्षिक ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने, पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिका कुपोषणको शिकार हुनेजस्ता तथ्याङ्क प्रस्तुत गर्दै विकास योजनाको सुस्त प्रगतिप्रति चिन्ता व्यक्त गरे। अघिल्लो वर्षको तुलनामा चालुतर्फ ७५।५२ प्रतिशत र पुँजीगततर्फ मात्र ५८।६३ प्रतिशत बजेट कार्यान्वयन भएको उल्लेख गर्दै उनले “जनताको रगत–पसिनाको कर केवल कागजमा होइन, गाउँको बाटो, पुल, विद्यालय र अस्पतालमा देखिनुपर्छ” भने।
सम्भावना र प्राथमिकता
कर्णालीलाई ‘अविकसित अवसरको खानी’को रूपमा व्याख्या गर्दै उनले जलविद्युत्, जडीबुटी, जैविक कृषि र पर्यटनलाई दीर्घकालीन विकासको आधार बनाउनुपर्ने धारणा राखे। उनले प्रदेशसभाका २४ वटै निर्वाचन क्षेत्रमा बुढानीलकण्ठ स्तरका आधुनिक विद्यालय स्थापना गर्ने, मध्यपश्चिम विश्वविद्यालयलाई सीपमूलक संस्थामा पुनःसंरचना गर्ने, उद्यमशीलता कोष र स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्ने, हरेक जिल्लामा विशिष्टकृत अस्पताल खोल्ने र भेरी–कर्णाली करिडोरलाई तीव्र गतिमा निर्माण गर्ने योजनासमेत प्रस्तुत गरे।
भ्रष्टाचारविरुद्ध कडा अडान
हमालले कर्णालीको विकासमा सबैभन्दा ठूलो अवरोध भ्रष्टाचार भएको आरोप लगाउँदै ‘लोकपाल एम्बुसम्यान’ गठन गरी युवाले आफैं निगरानीमा उत्रनुपर्ने सुझाव दिए। “पद जेसुकै होस्, जसले गरे पनि कानुनको कठघरामा ल्याउने दृढता युवामा हुनुपर्छ,” उनले चेतावनी दिए।
युवाप्रति प्रत्यक्ष आह्वान
संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहदेखि संघीय संसदसम्म युवाले नेतृत्वमा प्रवेश गर्नुपर्ने उनले बताए। “फेसबुकको स्टाट्स मात्र होइन, नीति निर्माणको कलम हाम्रो हातमा हुनुपर्छ भन्दै उनले प्रतिनिधिसभामा १२, प्रदेशसभामा ४०, ७९ स्थानीय तहका प्रमुख/उपप्रमुख र ७१८ वडामा युवा उम्मेदवार उतार्ने तयारी सुरु गर्न आह्वान गरे।
कार्यक्रमको अन्त्यमा हमालले कर्णालीलाई ‘उपेक्षित होइन, उत्कृष्ट प्रदेश’को पहिचान दिने प्रतिज्ञा गर्दै, “हामी माग्ने होइनौं, दिने हौंस पछि होइनौं, अघि हौं” भन्दै सबैलाई एकताको अभियानमा जोडिन आग्रह गरे।