२०८३ वैशाख ४ , शुक्रबार

राप्रपा जिल्ला अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव विधानविपरीत भएको वरिष्ठ उपाध्यक्ष थापाको दाबी



सुर्खेत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतका वरिष्ठ उपाध्यक्ष छत्रपति थापाले जिल्ला अध्यक्ष कबिराम पुरीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पार्टी विधानविपरीत भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका छन्। थापाका अनुसार राप्रपा विधानको धारा ५९ अनुसार अविश्वास प्रस्ताव जिल्ला परिषद्को एक-तिहाइ सदस्यको समर्थनसहित मात्रै वैधानिक रूपमा दर्ता हुनसक्छ। तर, हाल प्रस्तुत प्रस्ताव सो प्रक्रिया नअपनाई अघि बढाइएको भन्दै उनले प्रस्ताव असंवैधानिक भएको स्पष्ट गरेका छन्।

थापाले पार्टीका स्थानीय अधिवेशनहरूको क्रम जारी रहेको र जनस्तरमा संगठन विस्तार सशक्त रूपमा अघि बढिरहेको उल्लेख गर्दै सुर्खेतका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई ‘अनावश्यक भ्रम र विवादमा नफस्न’ आग्रह गरेका छन्। उनले पार्टीको नियमित क्रियाकलापलाई अवरुद्ध गर्ने उद्देश्यका साथ कार्यालयमा ताल्चा लगाउने जस्ता गतिविधि विधान, मूल्य र मान्यताको प्रतिकूल भएको भन्दै त्यस्ता कार्यमा संलग्न नहुन चेतावनी दिएका छन्।

‘पार्टी विधानको स्पष्ट प्रावधान हुँदाहुँदै केही व्यक्तिहरूले भ्रम फैलाउने, नेतृत्वलाई विवादित बनाउने र संस्थाको प्रतिष्ठा हानि गर्ने गतिविधि सञ्चालन गरिरहेका छन्,’ थापाले भनेका छन्, ‘जिम्मेवार नेता र कार्यकर्ता यस्ता अवैधानिक तथा संगठन-विरोधी कार्यबाट टाढा रहनुपर्छ।,’ बुधबार पार्टीका उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीको अध्यक्षतामा दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले पुरीविरुद्ध राप्रपा कर्णाली प्रदेश कार्यसमितिमा अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

जिल्ला कार्यसमितिका बहुमत सदस्यहरुले अध्यक्ष पुरीले २०७८ यता पार्टीका नियमित बैठक बसाल्न नसकेको, आफ्ना गतिविधि पार्टीभन्दा व्यक्तिगत रूपमा सञ्चालन गर्न खोजेको, संगठन विस्तारमा योगदान नदिएका कारण सक्रिय सदस्य संख्या घट्दै गएको आरोप पुरीमाथि लगाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार