२०८३ जेठ १८ , सोमबार

वीरेन्द्रनगरमा राजश्व छलीको सामानसहित ई–भि गाडी नियन्त्रणमा



सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छली गरी ल्याइएका बिना बिल–बिजकका सामानसहित एक ई–भि गाडी नियन्त्रणमा लिएको छ। हिजो बुधवार साँझ करिब ६ बजे प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–११ सुब्बाकुना सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश०३–००१ ज ०६७६ नम्बरको ई–भि गाडी नियन्त्रणमा लिएको हो।

गाडी वीरेन्द्रनगर–१० का बालकृष्ण खड्काले चलाइरहेका थिए। गाडीमा यात्रु नभई मात्र सामान लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानमा २० केजीका ६ बोरा पास्ता, पानी पुरी बनाउन प्रयोग हुने ३० केजीका १९ बोरा चिनी, ५० थान चोसो पेय पदार्थ, २४ थान मिक्स जुस, २० प्याकेट काजु लगायत सामग्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नाबय उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार सामान र गाडीको अनुमानित मूल्य रु ४१ लाख १४ हजार ८८० रहेको छ। पक्राउ परेका चालक र बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुर–बाँके पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार