
सुर्खेत। कर्णाली प्रदेशमा रहेका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूलाई अभिलेखिकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले भिडिओ निर्माण गर्न आव्हान गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार चालु आर्थिक वर्षभरिमा यो कार्यक्रम लागू हुनेछ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार मासिक रूपमा उत्कृष्ट भिडिओ छनोट गरी नगद रु. १५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै वर्षभरिमा निर्माण भएका भिडिओहरूमध्ये सर्वोत्कृष्टलाई नगद रु. ३५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न पाँच विधामा प्रति विधागत भिडिओलाई नगद रु. २० हजार र प्रमाणपत्र समेत प्रदान गरिनेछ। कर्णाली प्रदेशका मूर्त सम्पदा जस्तैः पुरातात्विक संरचना, मन्दिर, गुम्बा, परम्परागत घर, मूर्तिकला, धार्मिक तथा पर्यटकीय सम्पदा, जलसम्पदा आदिलाई समेटेर भिडिओ बनाउन सकिनेछ।
त्यस्तै अमूर्त सम्पदा जस्तैः मेला, पर्व, जात्रा, देवी–देवताका पैठ, लोकगीत, लोकनृत्य, लोककथा, संस्कारकर्म, मौखिक इतिहास, मागल, धमारी, ढटाह लगायतका विषयमा पनि भिडियो निर्माण गर्न सकिने जनाइएको छ। यीमध्ये मेला, पर्व, जात्रा र देवी–देवताका पैठसँग सम्बन्धित भिडिओहरू मासिक प्रतिस्पर्धामा समावेश गरिनेछन्। अन्य विधाका भिडिओहरूमध्येबाट सर्वोत्कृष्ट र विधागत रूपमा उत्कृष्टलाई वर्षको अन्त्यमा छनोट गरिने मन्त्रालयले जनाएको छ।
युवा तथा खेलकुद महाशाखाका अनुसार प्रतिस्पर्धामा सहभागी हुने जोकोहीले ५ देखि १० मिनेटसम्मको स्पष्ट सन्देशयुक्त तथा पूर्ण परिचयात्मक भिडिओ निर्माण गरी आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गर्नुपर्नेछ। त्यसको लिंक मन्त्रालयले उपलब्ध गराएको इमेल ठेगानामा पठाउन सकिनेछ। भिडिओ प्रचलित कानूनअनुसार प्रतिलिपि अधिकार सुरक्षित भएको हुनुपर्ने महाशाखाले स्पष्ट पारेको छ।