२०८३ साउन १ , शुक्रबार
कर्णाली प्रदेश स्थापना दिवस

राप्रपा भन्छ– “उत्सव होइन, विखण्डनको दिन”



राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमाल

सुर्खेत । आज (भदौ ४) कर्णाली प्रदेश स्थापना दिवसका रूपमा औपचारिक रूपमा मनाइँदैछ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले यस दिनलाई उत्सवको रूपमा मनाउनु वास्तविक इतिहासको अपमान भएको बताएका छन्। उनका अनुसार, यो कुनै गौरवको दिन होइन, बरु अखण्ड मध्यपश्चिमलाई टुक्र्याएर विखण्डन गरिएको दिन हो।

हमालले प्रेस वक्तव्यमा भनेका छन् कि प्रदेश स्थापना आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यमबहादुर बिसी र जुम्लाका हरिबहादुर कुँवर चार सहिद भएका थिए। “यी सहिदको रगत अखण्डताको लागि बगेको थियो, तर त्यसलाई सत्ताले प्रदेश बनाउने राजनीतिक खेलको सीढी बनाए,” उनले भने।

उनले विडम्बनापूर्ण रूपमा जोड दिए कि जसले निर्दोष नागरिकको ज्यान नियोजित रूपमा लिएको थियो, उनीहरू नै आज “प्रदेश स्थापनाकर्ता”को रूपमा मञ्चमा उभिएर जनतालाई ठगिरहेको अवस्थामा छन्। हमालले प्रदेश संरचनाले जनतालाई कुनै प्रत्यक्ष अधिकार दिएको छैन भन्दै यसले भ्रष्टाचार बढाएको, राजनीतिक अवसरवादलाई प्रश्रय दिएको र राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोप पनि लगाएका छन्।

उनका अनुसार, जनताले पाएको भनेको खाली रोजगार घोषणा, विकासको नाममा बजेटको दुरुपयोग र सहिदको बलिदानको राजनीतिक सौदाबाजी मात्र हो। राप्रपा प्रदेश संरचना आवश्यक नभएको स्पष्ट गर्दै आएको छ। हमालका अनुसार, “सस्तो, सक्षम र जवाफदेही शासन व्यवस्था केवल बलियो स्थानीय र केन्द्रीय संरचनाको मिश्रणबाटै सम्भव छ। प्रदेशको नाममा भइरहेको संसाधनको बर्बादी तत्काल अन्त्य हुनुपर्छ।”

सहिदको साँचो सम्मान केवल फूलमाला अर्पण गरेर नभई उनीहरूको अधुरो सपना पूरा गरेर मात्र सम्भव हुने र यस सपना पूरा गर्न अखण्ड मध्यपश्चिमको आत्मसम्मान पुनःस्थापना, क्षेत्रीय एकता पुनर्जागृत गर्नु र जनतामै लाभ पुग्ने शासन व्यवस्था स्थापना गर्नु आवश्यक रहेको उनले बताए।

हमालले मध्यपश्चिमबासी सबै नागरिकलाई आह्वान गर्दै भने, “सहिदको बलिदान व्यर्थ जान नदिऊँ। अखण्डताको सपना पूरा गर्न, अनावश्यक प्रदेश संरचना अन्त्य गर्न र बलियो स्थानीय तथा केन्द्रीय संरचनामा देशलाई लैजाँदै जनताको कर जनतामै फर्काउने शासन प्रणाली स्थापना गर्न एकताबद्ध होऔँ।” भदौ ४, राप्रपा अनुसार, उत्सवको दिन होइन, आत्मसमर्पण, विश्वासघात र जनअधिकारको अपमानको प्रतीक मात्र हो।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार