२०८३ जेठ १८ , सोमबार

सुर्खेतमा २४ घण्टामै ‘अति भारी’ वर्षा, खानीखोलामा मात्रै २९१ मिलिमिटर पानी



सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा ‘अति भारी’ वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेतको खानीखोलामा मात्रै २९१.६ मिलिमिटर पानी परेको छ । शुक्रबार बिहान १०ः३५ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न स्थानमा पनि ठूलो मात्रामा वर्षा भएको छ ।

पर्वतको पञ्चासेमा १७९.६ मिलिमिटर, बाँकेको बेल्भरमा १४६.४ मिलिमिटर, साथै सिन्धुपाल्चोक, कास्की, दाङ र दार्चुलामा पनि ‘धेरै भारी’ वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे ‘हल्का’, १० देखि ५० मिलिमिटरसम्म परे ‘मध्यम’, ५० देखि १०० मिलिमिटरसम्म परे ‘भारी’ र १०० देखि २०० मिलिमिटर परे ‘धेरै भारी’ वर्षा मानिन्छ ।

२०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई भने ‘अति भारी’ वर्षा भनिन्छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सामान्यभन्दा दक्षिणतर्फ सरेको र पश्चिममा सरदर स्थानको आसपासमै रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार