कर्णाली राजमार्गमा प्रत्येक वर्ष पहिरो र धुलोको समस्या

सडक सुधारमा सरकारको छैन चासो

कुलेन्द्र शाही
कुलेन्द्र शाही १९ भाद्र २०८२, बिहीबार ०८:२२

 

सुर्खेत । कर्णाली राजमार्ग सञ्चालनमा आएको झन्डै दुई दशक बित्न लाग्यो । तर कर्णालीवासीका लागि यो राजमार्ग अझै सुरक्षित जीवनरेखा बन्न सकेको छैन । यसको नामै ‘मृत्यु मार्ग’ भनेर चिनिनु कर्णालीको पीडाको साक्षी बनेको छ । यो राजमार्ग जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र मुगु गरी पाँच हिमाली जिल्लालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हो । तर यात्रुका लागि यो बाटो कहिले धुलाम्य, कहिले हिलाम्य त कहिले पहिरोले पुरिएको भेटिन्छ ।

यो वर्षको बर्खा सुरु भएता कर्णाली राजमार्ग क्षतविक्षत छ । राजमार्गका विभिन्न स्थानमा खाल्डाखुल्डी छन्, भने कतै पहिरो थुप्रिएको छ । राजमार्ग साँघुरो, हिलाम्य र खाल्डाखुल्डीले सधैँ वर्षायाममा नागरिकहरूले सास्ती खेप्दै आइरहेका छन् । नागरिकले जति सास्ती खेपे पनि यो राजमार्ग भने राज्यको उपेक्षामा पर्ने गरेको छ । हिउँदमा धुलोले र बर्खामा हिलोले यात्रा गर्ने यात्रुहरूलाई निकै समस्या हुने गरेको छ ।

बर्खामा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यान दिनुपर्ने स्थानीयहरूले बताउँदै आएका छन् । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बाङ्गेसिमलदेखि दैलेखको दही खोलासम्मको १३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्ला सम्मको १०४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । तर दुवै निकायले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नतर्फ ध्यान दिन सकेका छैनन् ।

एकै ठाउँमा ३० पटक पहिरो
यो वर्षको बर्खा सुरु भएपछि कर्णाली राजमार्ग फेरि पनि ‘अवरुद्ध यात्राको कथा’ सुनाइरहेको छ । कालीकोटको शुभकालिका–१ गगने खोलामा मात्रै असार र साउन महिनामा ३२ पटक पहिरोले सडक रोकिएको छ । हुल्म, ताडी, मोल्फा, गाल्जेसम्म जोड्दा मात्र यस बर्खामा ३० भन्दा बढी पटक राजमार्ग ठप्प भएको तथ्याङ्क छ । भदौ १४ गते गगने खोलामा गएको ठुलो पहिरो हटाउन नेपाली सेनाले समेत ढुङ्गा ब्लाष्ट गरेर सडक खुलाउनुपरेको थियो ।

तर, सडक सुचारु भएको पाँच घण्टामै अर्को पहिरोले फेरि यातायात रोकेको थियो । यसरी बारम्बार सडक रोकिँदा यात्रुवाहक बसदेखि मालवाहक ट्रकसम्म अलपत्र पर्छन् जसले यात्रुले बाटोमै बस्नुपर्ने अवस्था आएको छ । ‘कालोपत्रे त गरिएको छ, तर बाटो साँघुरो छ, खाल्डाखुल्डी प्रशस्तै छन् । यस्तो अवस्थामा दुर्घटनाको जोखिम बढ्दो छ ।,’ कालिकोटका राजन विकले भने, ‘दैलेख र कालिकोट खण्डमा त वर्षातमा सवारी लामो समयसम्म जाममा बस्नु सामान्य घटना जस्तै लाग्न थालिसक्यो ।’

सरकारबाट सधैँ झारो टार्ने प्रयास
यस पटक मात्रै होइन सुर्खेतबाट कतै नरोकिएका गाडी प्रत्येक वर्ष बर्खाको समय सुरु हुन नपाउँदै कालीकोटको शुभकालिका–१ गगने खोलामा रोकिएर यात्रुलाई सास्ती हुने छ । बर्सेनि ठेक्का हुने गरे गुणस्तरको काम नहुँदा पानी पर्ने बित्तिकै पहिरोले सडक अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् ।

२०७८ सालको बेमौसमी वर्षाले सडक क्षतविक्षत बनाएपछि गगने खोलामा तीन करोड रुपैयाँमा ग्याबिन जालीसहितको पर्खाल लगाइएको थियो । तर, एक वर्षमै पहिरोले पर्खाल बगायो र सडक फेरि त्यही हालतमा फर्कियो । यसरी घाम लागे धुलो पानी परे हिलो हुने कर्णाली राजमार्गको गगने खोलाको पहिरोले सधैँ यात्रुलाई सास्ती दिने छ । तर अरू समयमा सडक मर्मतबारे कुनै पनि चासो नदिएको र सरकारले बर्खामा पहिरो पन्छाएरै झारो टार्ने काम गरेको कालिकोटका राम परियारले आरोप लगाए ।

कर्णाली राजमार्ग अन्तर्गत सडक डिभिजन कार्यालय सुर्खेतले बाङ्गेसिमलदेखि दही खोलासम्म र त्यसपछिको खण्ड जुम्ला डिभिजनले हेरे पनि दुवै निकायले सडक स्तरोन्नतिको दीर्घकालीन काम अघि बढाउन सकेका छैनन् । कालिकोटका सुशीला परियारले सरकारले अरू बेला ध्यान नदिएर बर्खा लागेपछि मात्रै ‘झारो टार्ने’ शैलीमा काम गर्ने गरेको आरोप लगाइन् । उनले भनिन् ‘अरू समयमा सरकार चुप लाग्छ । बर्खामा मात्र पहिरो पन्छाएर काम सकिन्छ । यो स्थायी समाधान होइन ।,’

सडक स्तरोन्नति गर्ने बारे बुझ्न कर्णाली सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढालाई सम्पर्क गर्दा उनले आफू कार्यक्रममा भएको बताए । यता, सडक डिभिजन कार्यालय जुम्ला इन्जिनियर सौरभ कुमार सिंहले आफूहरूसँग बजेट नहुँदा पहिरो पन्छाउने बाहेक अरू काम गर्न नसकेको बताए ।
सिंहले भने, ‘हामीसँग स्तरोन्नति गर्ने बजेट छैन । त्यसैले पहिरो पन्छाउने काम बाहेक अरू गर्न सक्दैनौँ । तर गगने खोलामा पुल बनाउन सकियो भने समस्या धेरै हदसम्म घट्छ ।,’

उनका अनुसार डिभिजनले आपत्कालीन कामका लागि दुईवटा मेसिन तयारी अवस्थामा राखेको छ । इन्जिनियर सिंहले प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्नुपर्ने बताए । उनले गगने खोलामा पुल बनाउन सकेमा यस्तो समस्या बारम्बार नआउने बताए । इन्जिनियर सिंहले सरकारले बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्नुपर्ने बताए ।

Next Post

बेपत्ताको पर्खाइमै बित्यो २० वर्ष - राहतमै अल्झियो राज्य, न्याय खोज्नेहरू निराश

१९ भाद्र २०८२, बिहीबार ०८:२२
सुर्खेत । २०६० साउन २३ गतेको सुर्खेत वीरेन्द्रनगर–१० की दीपा ओली  परिवारका लागि जीवनभरको घाउ बनेर हराइन्। इत्राम स्कुलमा कक्षा ८ मा अध्ययनरत दीपा त्यस दिन विद्यालय पुगिन् तर घर फर्किनन् । परिवारका सदस्य र आफन्तले चारैतिर खोज्दासमेत पत्तो नलागेपछि तत्कालीन विद्रोही समूह माओवादीले अपहरण गरेको शंका गरे । बेपत्ता […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930