
सुर्खेत । सामाजिक सञ्जालमार्फत नक्कली विवाह गराइ ठगी गरेको आरोपमा सुर्खेतमा दुई जना पक्राउ परेका छन् । फेसबुकलगायत माध्यमबाट सम्पर्क गरी नक्कली आमा–बुवा तथा छोरी बनेर विवाह गर्ने मनसायले विभिन्न पुरुषसँग विवाह गर्ने र विवाह पश्चात बेहुली बनेकी महिलाले नगद तथा सुनचाँदीका गरगहना लिएर वेपत्ता हुने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेमा दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बसोबास गर्दै होटल सदाशंकरका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाद गाउँपालिका–३ का स्थायी बासिन्दा भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनीहरूलाई प्रहरीले वीरेन्द्रनगर–१० बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा फरक–फरक मितिमा एउटै महिलासँग विभिन्न पुरुषहरूलाई विवाह गराइ ठगी गरिएको खुलेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिमाथि हाल ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।