
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले सामाजिक सञ्जाल दर्ता गराउन नसक्नु सरकारको ठूला कमजोरी र अकर्मण्यताको प्रमाण भएको बताएका छन्। उनले सरकारको असक्षमतालाई ढाकछोप गर्न अभिव्यक्ति स्वतन्त्रता र नागरिकको पहुँचमा रोक लगाउने प्रवृत्ति अत्यन्तै खतरनाक रहेको बताए।
उनले भने, ‘सामाजिक सञ्जाल जनतासँग जोडिने माध्यम हो, यसलाई बन्द गर्नु वा नियन्त्रण गर्नु भनेको जनतालाई नै सेवाबाट वञ्चित गर्नु हो। सरकार दर्ता प्रक्रियालाई सहज बनाउन सक्दैन भने त्यो सरकार चलाउने नै हैसियत हुँदैन।,’ रवि किरणका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले भ्रष्टाचार र तस्करीतन्त्रलाई संरक्षण दिन्छ, तर जनताको आवाज दबाउँछ।
‘सरकारको काम सुविधा दिनु हो, अधिकार खोस्नु होइन। जनतालाई चुप गराउने होइन, सुन्ने संस्कार विकास गर्नुपर्छ,’ उनले भनेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाल विश्वले चिनेको, पर्यटन प्रवर्धनमा उल्लेखनीय उपलब्धि हासिल भएको, धेरै युवाले स्वरोजगार र उद्यमशीलताको बाटो समातेको र स्टार्टअपहरू प्रवर्तन भएको उदाहरण समेत प्रस्तुत गरे।
यस्तो अवस्थामा सामाजिक सञ्जाल बन्द गर्नु भनेको रोजगारी खोस्नु साथै यो जनविरोधी कदम हामीलाई मान्य नहुने उनले स्पष्ट पारे। रवि किरणले अभिव्यक्ति स्वतन्त्रता जोगाउन र रोजगारीका अवसरलाई सुरक्षित गर्न जनतालाई सचेत रहन आह्वान गरेका छन्।