२०८३ जेठ १८ , सोमबार

जुम्लाको अर्ग्यानिक स्याउको स्वाद राजधानी शहरसम्म, ब्रान्डिङमा सांसद शाही सक्रिय



सुर्खेत । जुम्लाका आठ स्थानीय तहका स्याउ किसानलाई यति बेला बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको छ । स्याउ व्यापारी घरमै आएर खरिद गर्न समेत थालेका छन् । करिब एक सय बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले फल दिएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत कम फलेको स्याउ किसानहरू बताउँछन् ।

गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यद्यपि, स्याउ कति घट्यो भन्नेबारे तथ्याङ्क आउन केही समय लाग्ने कार्यालयको दाबी छ । यहाँका स्याउ किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

विशेष गरी सडक सञ्जालसँग जोडिएका बगैँचाकाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्री गर्न लगिसकेका छन् । त्यति मात्रै होइन जुम्लामा उत्पादित अग्र्यानिक स्याउ यति बेला काठमाडौँ समेत पुगेको छ । गत शुक्रवार जुम्लामा उत्पादन हुने अग्र्यानिक स्याउको बजार प्रवद्र्धन गर्न काठमाडौँमा स्याउ महोत्सव समेत आयोजना गरिएको थियो । भर्खर सञ्चालनमा आएको कला घरको आयोजनामा काठमाडौँमा शुक्रवार स्याउ महोत्सव गरिएको थियो ।

जुम्लाबाट काठमाडौँ छिरेका युवा गोविन्द सुनारको अगुवाइ तथा अन्य युवाले जुम्ली स्याउको बजारीकरण सहज बनाउन प्रचार–प्रसारमा जोड दिन पहिलो–पटक स्याउ महोत्सवको आयोजना गरेका थिए । महोत्सवमार्फत कर्णालीका स्याउलाई देशव्यापी चिनाउने, बजार विस्तार गर्ने र किसानलाई लाभ हुने वातावरण बनाउन ‘कर्णाली स्याउ उत्सव’ आयोजना गरिएको कलाघरका सञ्चालक गोविन्द सुनारले बताए ।

उनका अनुसार शंखमुलस्थित कला घरमा भदौ २० देखि २२ गतेसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवमा अग्र्यानिक स्याउसँगै जुम्लाको भाषा संस्कृति झल्किने स्टल रहने राखिएको थियो । जसले गर्दा यस वर्ष कर्णालीको स्याउ काठमाडौँमा धेरै ठाउँमा पाउने गरी व्यवस्थापन भएको छ । यसअन्तर्गत ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको विधान महाधिवेशन भएको थियो । सो स्थलमा समेत पाँच ठाउँ जुम्लाको स्याउ बेच्ने गरी व्यवस्था मिलाइएको थियो ।

ब्रान्डिङमा सांसद शाही सक्रिय
नेपालमै उत्पादित स्याउको ब्रान्डिङ गर्न कर्णालीवासी सक्रिय रूपमा लागिपरेका छन् । यस्तोमा विशेष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसमेत सक्रिय छन् । शाहीले प्रतिनिधि सभाको बैठकबाटै जुम्ली स्याउको स्वाद लिन अपिल गरेका थिए । उनले सरकारसँग समेत जुम्लाको स्याउलाई प्रोत्साहन गर्न र विदेशी स्याउको आयात रोक्न माग गरेका थिए ।

‘जुम्ली स्याउ खाऔँ, विदेशी स्याउ रोकौँ’ भन्ने नाराका साथ कृषि मन्त्री र गृहमन्त्रीलाई तत्काल यस विषयमा आवश्यक कदम चाल्न उनको आग्रह थियो । उनले त्यसो भए मात्र जुम्लाको स्याउले बजार पाउने र किसानले पैसा पाउने बताए । सांसद शाहीले भने, ‘जुम्लाको स्याउको बजार विस्तारका लागि सहयोग गर्न सरकारले विशेष पहल गर्नुपर्छ । जुम्लाको स्याउ राजधानी काठमाडौँलगायतका ठुला सहरमा पु¥याउनका लागि सडक पूर्वाधारको अवस्था सुधार गर्न आवश्यक छ । सडक सुधारको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्नुपर्छ ।,’

सांसद शाहीका अनुसार नेपालमा उत्पादन हुने कृषि उपजलाई प्रोत्साहन गर्न सके किसानको जीवनस्तरमा सुधार आउँछ । यसका साथै देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको विश्वास छ । उनले भनेका छन्, ‘जुम्ली स्याउ खाऔँ, विदेशी स्याउ रोकौँ । यसो गरे किसानको जीवनस्तर सुध्रिन्छ र देशको अर्थतन्त्रमै टेवा पुग्छ ।’ उनले जुम्लाको रसिलो स्याउमा किसानको पीडा भने गहिरो रहेको बताए ।

उनले फलेका स्याउ बजार ल्याउन बाटो नहुँदा किसानले थप समस्या बेहोरिरहेको बताए । उनले गत बुधवारको प्रतिनिधि सभा बैठकमा जुम्लाको स्याउ ल्याउँदा प्रहरीले १०० रुपैयाँसम्म घुस लिनेको गरेको पनि आरोप लगाएका थिए । स्याउका गाडीलाई अफिम बोकेजस्तो व्यवहार गरेको उनको आरोप थियो । स्याउका लागि निकै प्रसिद्ध मानिएको जुम्लामा उत्पादित स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार