जेन–जीको आन्दोलनले कर्णालीमा सरकारी कागजात नष्ट, भवनसँगै सवारी साधनसमेत जलेर खरानी

कुलेन्द्र शाही
कुलेन्द्र शाही २७ भाद्र २०८२, शुक्रबार १०:२९

सुर्खेत । जेन–जी पुस्ताको मंगलबार भएको प्रदर्शनले कर्णाली प्रदेश राजधानी सुर्खेतमा सरकारी कार्यालय प्रमुख निसानामा परे । जहाँ तोडफोड र आगजनी भयो । यसरी तोडफोड र आगजनी भएका अधिकांश सरकारी कार्यालय बनेको केही समय मात्रै भएको छ । अबौं खर्चिएर बनेका संरचना जेलर खण्डहर बन्न पुगेका छन् । उक्त भिड त्यतिकैमा रोकिएन । उनीहरूले हटिया लाइनमै रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा तोडफोड र आगजनीसमेत गरे ।

जेनजीको आन्दोलनबाट करोडौँको भौतिक संरचना ध्वस्त भएका छन् । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, नापी कार्यालय, प्रदेश सभा, प्रदेश सभा सचिवालय, वीरेन्द्रनगर नगरपालिका, सरकारी वकिल कार्यालय लगायतका सरकारी अड्डा र नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस र जनमार्चाको कार्यालय समेत तोडफोड र आगजनीमा परे ।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाइ डा. डम्बर खड्काको निजी निवास, मुख्यमन्त्रीको सरकारी निवास, मुख्यमन्त्री यामलाल कँडेलको नीजि घर नगरप्रमुख मोहनमाया ढकालको घर, उपप्रमुख नीलकण्ठ खनालको घर, वीरेन्द्रनगर नगरपालिका –१, २, ३, ४, ६, ७, ८, ९ नम्बर वडा कार्यालय भवन जलेर नष्ट भएका छन् । यस्तै एयरर्पोट चोकमा सञ्चालन भइहरेको माया आयल स्टोरमा समेत मंगलवार राति आन्दोलनकारीहरु तोडफोड गरे ।

नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा अराजक आन्दोलनकारीले निसाना बनाएर आगजनी तथा तोडफोड गरी अर्बौंको क्षति पु¥याएका छन् । संयमता गुमाएका अराजक युवाहरूले प्रदेशसभाभित्रका भौतिक तथा सरकारी कागजात पूर्ण रूपमा नष्ट गरेका छन् । प्रदेशसभा परिसरमा तोडफोड र आगलागी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगलागीका कारण १ अर्बभन्दा बढीको क्षति भएको बताए ।

 

क्षतविक्षत् भएको प्रदेशसभालाई पहिलेकै अवस्थामा ल्याउन अर्बौं खर्च लाग्ने उनले बताए । उनका अनुसार प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित गर्न सकिएन । अघिपछि प्रदेशसभामा प्रवेश गर्न निकै कडाइ गर्ने प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका छन् ।

एउटै कार्यालयका दर्जन बढी मोटरसाइकल खरानी
प्रदेश लेखा नियन्त्रक कार्यालयमा पार्किङ्ग गरेर राखिएका दर्जन बढी मोटरसाइकल जलेर नष्ट भएका छन् । कार्यालयका एक कर्मचारीले कार्यालयमा राखिएका मोटरसाइकल प्रदर्शनकारीले जलाएर नष्ट बनाएको जानकारी दिए । ‘हामीले आन्दोलनकारी आएको पनि थाहा पाएनौं,’ ती कर्मचारीले सिद्धदर्शन दैनिकसंग कुरा गर्दै भने, ‘आन्दोलनकारीहरुले हाम्रो सवारी मात्रै होइन सेवा लिन आएका सेवाग्राहीका समेत मोटरसाइकल जलेर नष्ट गरे ।’ उनका अनुसार जलाएका मोटरसाइकल अधिकांश निजी रहेको बताए ।

साथै सोही कार्यालयका दुई वटा गाडी समेत जलेर खरानी भएका छन् । ‘सवारी साधन त जले केही थिएन हुँदा हुँदा कार्यालयभित्र भएका महत्वपूर्ण कागजात, जिन्सी सामग्रीसमेत जलेर नष्ट भएको छ,’ उनले मंगलवार जलेर नष्ट भएको भवन २०८० मा सालमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले उद्घाटन गएपछि आफूहरु सो कार्यालयमा सेवा दिने गरेको बताए ।

‘भवन बनेको २ वर्ष मात्रै भएको थियो, तर के गर्न जलेर नष्ट भयो,’ उनले भने, ‘बरु पहिलेकै भवनमा बसेको भए हुने रहेछ,’ उनले कार्यालयबाट आंशिक सेवा छिट्टै सञ्चालन भएपनि पुर्ण सेवा भने अझै कयौँ वर्ष लाग्ने बताए । आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका छन् ।

लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प भएका छन् । यसलाई नियमित गराउन निकै चुनौती झेल्नुपर्ने कर्मचारीहरू बताउँछन् । अराजक आन्दोलनकारीले नागरिकसँग प्रत्यक्ष जोडिने नापी कार्यालयमा समेत पूर्ण रूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।

भवनसँगै जले महत्वपुर्ण दस्तावेज
यता, नापी कार्यालयमा पनि भवनसँगै महत्वपुर्ण दस्तावेज पनि जलेर खरानी भएका छन् । नापी कार्यालयका एक कर्मचारीले कार्यालयमा भएका नक्साका कागजातसँगै कम्प्युटर लगायतका अन्य सम्पुर्ण सामाग्री जलेर नष्ट भएको बताए । ती कर्मचारीले कार्यालयमा बसेर तत्कालै काम गर्न सक्ने कुनै पनि अवस्था नभएको र कार्यालयबाट सेवा सुरु कहिले हुन्छ भन्नेबारे पनि भन्न नसकिने बताए ।

उनले २०२९ साल यताका सबै कागजात जलेर खरानी भएको हुँदा नापी सम्बन्धी कार्यहरू शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएको बताए । यता, कार्यालय प्रमुख दिनेश भण्डारीले पनि २०२९ साल यताका नक्साका कागजात जलेको हुँदा यी कागजात बनाउन २०देखि २५ वर्ष समय लाग्ने बताए । जसका कारण जनताले निकै सास्ती खेप्नुपर्ने बताए । नापी मात्रै नभई वीरेन्द्रनगरमा आन्दोलनकारीको निसानामा परेका सरकारी कार्यालयहरुसँगै दस्तावेजहरु ज्लेर खरानी बनेका छन् । जसका कारण कर्मचारीहरू जलेका कार्यालयसँगै आफ्नो भविष्य के हुने हो भन्ने अन्योलमा परेका छन् ।

 

Next Post

प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतल निवासमै

२७ भाद्र २०८२, शुक्रबार १०:२९
  काठमाडौं । आज राती ९ बजे सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गराएर नौ बजे सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। सोही बैठकले संसद […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930